गरुडाका नगरप्रमुख कल्वारद्वारा प्रशासकीय भवनको शिलान्यास

मधेस ब्युरो । रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्मनिी प्रसाद कल्वारले नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् । शुक्रबार एक समारोहबीच नगरप्रमुख कल्वारले गरुडा नगरपालिका– ४ स्थित गोरु बजार लाग्ने ठाउँमा प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।

नगरपालिकाको वर्तमान कार्यपालिका निर्वाचित भएपछि गरेको पहिलो निर्णय नै आफ्नो प्रशासकीय भवन निर्माण गर्ने भन्ने थियो । निर्वाचित भएको दुई वर्षपछि सर्वसम्मत रुपमा कार्यपालिका सदस्यहरुको उपस्थितिमा नगरप्रमुख कल्वारले प्रशासकीय भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यासपछि समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख कल्वारले भने, ‘जसरी सर्वसम्मत रुपमा प्रशासकीय भवन बनाउने निर्णय गरेका थियौँ, त्यसरी नै सर्वसम्मत रुपमा शिलान्यास पनि गरेका छौँ ।’

सबै पक्ष तथा राजनीतिक दलका प्रमुख व्यक्तित्वको उपस्थितिले अत्यन्त हर्षित बनाएको बताउँदै नगरप्रमुख कल्वारले भने, ‘आफूसित बोल्नलाई कुनै शब्द नै छैन ।’ समारोहलाई सम्बोधन गर्ने क्रममा नगरप्रमुख कल्वार भावुक बनेका थिए ।

पाँच करोडको लागतमा तीन तले भवनको निर्माणको लागि टेन्डर गरिएकोमा श्रेष्ठ बटुक भैरव जेभी वीरगञ्जले ३ करोड ३३ लाखको लागतमा निर्माण गर्ने ठेक्का सकार गरेको छ । ठेक्का सकार भएको मितिले एक वर्षभित्र निर्माण गरिसक्नुपर्ने जनाइएको छ । सो ठेक्का अनुसार काम सम्पन्न भएमा अर्को वर्ष नगर सभा नयाँ भवनमा नै गरिने नगरप्रमुख कल्वारले सार्वजनिक गरेका छन् ।

रौतहटमा दुई गाउँपालिका र १६ नगरपालिका रहेका छन् । गौर र चन्द्रपुरपछि तेस्रो नगरपालिकाको रुपमा रहेको गरुडाभन्दा पहिले गौर, चन्द्रपुर, मौलापुर, गुजरा, गढीमाई, देवाही गोनाही, ईशनाथ लगायतका नगरपालिकाहरुले आफ्नै प्रशासकीय भवनमा सेवा दिइरहेका छन् । जिल्लामा करिब आधा दर्जनभन्दा बढी पालिकाको प्रशासकीय भवन निर्माण भइरहेका छन् ।

प्रतिक्रिया