लमजुङ । शिक्षा क्षेत्रका लागि पर्याप्त नभए पनि बजेटको ठुलो हिस्सा हरेक वर्ष छुट्याउने गरिन्छ । तर, छुट्याइएको बजेटमध्ये ठुलो हिस्सा शिक्षकको तलब र अन्य चालु खर्चमै सीमित हुँदा पूर्वाधारको क्षेत्रमा उत्साहजनक प्रगति हुन सकेको छैन । विद्यालयको भवनदेखि कक्षाकोठाको अवस्था र सिकाइ प्रविधिको स्तरोन्नतिमा कसैको चासो नहुँदा विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयहरू सुधार हुन सकेका छैनन् ।
यसको एउटा उदाहरण हो– लमजुङको सदरमुकाम समेत रहेको बेँसीसहर नगरपालिका–१ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालय । यहाँका विद्यार्थीहरू पानी पर्दा कक्षाकोठाभित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा पढ्न बाध्य हुँदै आएका छन् ।
विद्यालयकी प्रधानाध्यापक सीमा लोहनी पुरानो भवन जीर्ण र पानी चुहिने भएको र नयाँ भवनमा पानी परेका बेलामा कक्षाकोठाभित्रै ठुलो पानी छिर्ने गर्दा पानी परेका बेलामा पठनपाठन प्रभावित हुँदै आएको बताउँछिन् । उनका अनुसार २०४८ सालमा स्थापना भएको यस विद्यालयमा ४ कोठे पुरानो भवन र २०७४ सालमा निर्माण गरिएको २ कोठे भवन छ । पुरानो भवनको गारो चिराचिरा परेर खस्ने अवस्थामा रहेकाले कुनै पनि बेला खस्छ कि भनेर डरमा विद्यार्थी र शिक्षकहरू पठनपाठन गर्दै आएका छन् ।
प्रधानाध्यापक लोहनीले विद्यालयमा जस्तापाताको छानो रहेको र छानोका लागि राखिएका काठ कुहिन थालेको तथा नयाँ भवनको छानो मिलाएर नहालेकाले पानी परेका बेलामा कक्षाकोठाभित्रै पानी छिर्ने गरेको बताइन् । ‘पानी परेपछि सबै विद्यार्थीलाई २ कोठे नयाँ भवनमा रहेको शिक्षकको कार्यालयमै ल्याएर राख्ने गरेका छौँ । नयाँ भवनका कोठामा पनि पानी छिर्ने गरे पनि अन्य कोठाको तुलनामा कम पानी आउने गरेकाले शिक्षक विद्यार्थी एकै ठाउँमा बस्ने गरेका छौँ,’ उनले भनिन् ।
पुरानो भवनको जीर्णोद्धार र नयाँ भवनको छानो फेर्न वडा कार्यालय, पालिकाको शिक्षा शाखादेखि प्रदेश सरकारसँग केही वर्षअघिदेखि नै माग गरे पनि हालसम्म सुनुवाइ नहुँदा विद्यार्थीले यस्तो समस्याको सामना विगत ३ वर्षदेखि गर्न बाध्य हुँदै आएको गुनासो विद्यालय प्रधानाध्यापक लोहनीले गरिन् । विद्यालयमा गत वर्ष २२ जना रहे पनि यस वर्ष १५ जना मात्र विद्यार्थी छन् । नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी आएपछि विद्यार्थी कापीकलम झोलामा राखेर ओत खोज्न जानुपर्ने बाध्यता छ ।
ठुलो पानी परेका बेलामा आफूहरू पानीले रुझे पनि झोला जोगाउने कोसिस गर्दा पनि कुनै बेला झोला भिजेर किताब नै भिज्ने गरेको विद्यार्थीको भनाइ छ । नयाँ भवनमा ३ कक्षाको पढाइ हुने गरेको छ भने पुरानो भवनमा नर्सरीदेखि २ कक्षासम्मका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव किसानराज चिलुवालले उक्त विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत माग गरे पनि उक्त कार्यक्रमका लागि बजेट नै नआएकाले सहयोग गर्न नसकिएको र विद्यालय मर्मत तथा निर्माणका लागि शिक्षा शाखासँग बजेट नहुने बताए ।
वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले विद्यालयमा पानी चुहिने र जीर्ण भवनमा पठनपाठन गर्न जोखिम रहेको भए पनि तत्काललाई आर्थिक अभावले सो समस्या हटाउन नसकिने बताए । विद्यालयबाट उक्त जानकारी केही दिनअघि मात्र वडालाई आएको र सोअघि कुनै जानकारी नआएकाले अहिले आर्थिक वर्षको अन्तिम बेलामा बजेट नहुने उनको भनाइ छ ।
उक्त खबर पाउनासाथ वडाबाट प्राविधिक पठाएर हाललाई नयाँ भवनको एक कोठाका लागि छानो छाउनका लागि लागत अनुमान तयार गरेर र सम्झौता गरेर केही दिनमा काम अघि बढ्ने वडाध्यक्ष बुढाथोकीको भनाइ छ । उनले पुरानो जीर्ण भवन भने तत्काल केही गर्न नसकिने र आगामी दिनमा विद्यालय भत्काउने तथा कसरी अघि बढ्ने भनेर छलफल गरेर अघि बढ्ने बताए ।
प्रतिक्रिया