सरकार बनाउन गठबन्धनकाे भर

भाजपाले गुमायाे एकल बहुमत

काठमाडौँ । ‘अब की बार ४०० पार’को नारासहित नरेन्द्र मोदीको अनुहार देखाएर चुनावमा उत्रिएको भारतीय जनता पार्टी (भाजपा) चुनावी नतिजामा भने २४१ सिटमै समेटिएको छ । एकल बहुमतको उद्देश्यका साथ चुनावमा होमिएको भाजपा चुनावी नजितापछि एनडिए गठबन्धनको भरमा आफ्नो सरकार बनाउने दिशामा अग्रसर भएको छ ।

चुनावी परिणामले भारतमा १० वर्षपछि फेरि गठबन्धन सरकार बन्ने देखिएको छ । भाजपा नेतृत्वको एनडिए गठबन्धनको बहुमत देखिए पनि इन्डिया गठबन्धनले मोदीलाई हटाएर सरकार बनाउने कसरत सुरु गरिसकेको छ ।

उता, इन्डिया गठबन्धन बनाएर चुनाव लडेको कांग्रेसले मत प्रतिशतसँगै आफ्नो पार्टीको सिटमा भारी वृद्धि गरेको छ । १० वर्ष सरकार चलाएको कांग्रेसले २०१४ को लोभसभा चुनावमा नराम्रो झट्का बेहोरेको थियो । भाजपाले एकल बहुमत ल्याउँदा कांग्रेस १६२ सिट गुमाएर ४४ मा खुम्चिएको थियो । सन् २०१९ मा ८ सिट त थप्यो, तर बलियो प्रतिपक्षीसमेत बन्न सकेन । यो पटक भाजपाले कांग्रेसलाई अझ कमजोर बनाउन चाहेको थियो ।

सरकार गठनका लागि २७२ सिट भए पुग्ने भए पनि ४०० माथिको नारा दिएर गठबन्धनलाई दुई तिहाइ बहुमत मागेको थियो । अर्थात् भाजपा एक्लैले ३७० र बाँकी सिट गठबन्धनका अन्य दलबाट अपेक्षा गरेको थियो । २०१४ मा २८२ सिट जितेको भाजपाले २०१९ मा ३०३ सिट जितेको थियो । एनडिए गठबन्धनले भने क्रमशः ३३६ र ३५३ सिट जितेको थियो । तर, यस पटक भाजपाले बहुमत त गुमाएकै छ, भारतको बदलिँदो राजनीतिक परिदृश्यले सत्ता पनि गुमाउने देखिएको छ ।

बारम्बारको मत सर्वेक्षणमा भनिए जस्तो एनडिए र भाजपाको पकड भने देखिएन । धेरै मत सर्वेक्षणले भाजपाले ३४३ सिट पार गर्ने तथा एनडिए गठबन्धनले ४०० सिट पार गर्ने देखिएको थियो । परन्तु एनडिए गठबन्धनले ३०० सिट पनि पार गर्न सकेन । तथापि सोही गठबन्धनले भने बहुमत हात पारेको छ । १९ अप्रिल देखि १ जुनको बीचमा ७ चरणमा निर्वाचन भएको थियो । भाजपासहितको एनडिएले २९२ सिट भने जितिसकेको छ । यसैगरी इन्डियाले पनि २३२ सिटमा जित हात पारेको छ ।

एनडिएले जित्ने अनुमान भारतको दक्षिणी भूभागमा भने अशातीत नतिजा पाउन सकेन । तामिलनाडुमा भाजपाले आशातीत सफलता पाएन । तमिलनाडुमा भाजपाले कुनै सिट जितेन । दिल्लीमा अरविन्द केजरीवालको आम आदमी पार्टीले कुनै सिट जितेन । दिल्लीका ७ वटै राज्यमा भाजपाले जित हात पारेको छ । .अन्य मेघा सिटी भएका राज्यमा भाजपालाई रुचाएनन् । मुम्बई रहेको महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसले १०, भाजपाले ९, शिव सेना (बाल ठाकरे) ले ७ स्थानमा जित हात पारे । यो परिणामले सहरका मतदाताले इन्डिया तथा ग्रामीण भेगका मतदाताको रुची एनडिएमा देखिएको छ ।

प्रतिक्रिया