गण्डकीको मुख्यमन्त्रीमा पुनः पाण्डे नियुक्त

लेखनाथ (कास्की), १६ जेठ : मुख्यमन्त्री पाण्डे पदभार ग्रहण गर्दै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बुधबार आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्दै । तस्बिर : ऋषिराम बराल/रासस

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा पाण्डेलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सोमबार सर्वोच्च अदातलतले नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

यसअघि उनी १४ वैशाख, २०८० मा मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए । ६० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।


१४ जेठमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आदेश दिएको थियो ।

केन्द्रीय सत्ता समीकरण बदलिएसँगै अल्पमतमा परेका पाण्डेले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २१ चैत, २०८० मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख भट्टले चैत २५ गतेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।


संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकारका लागि सभामुख कृष्ण धितालको मतलाई समेत गणना गरेर एमाले संसदीय दलका नेता खगराज अधिकारीले २५ चैतमै दाबी पेस गरे र सोही दिन प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)सहित ३१ जना सांसदको समर्थन पु¥याएर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यतिबेला सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत परीक्षण गर्न पाउने फैसला सुनाएको थियो । तर, विश्वासको मत लिँदा ६० सदस्यीय प्रदेशसभामा ३० जनाले मात्र मुख्यमन्त्रीलाई समर्थन गर्दा पनि सभामुख कृष्ण धितालले अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

सभामुखको उक्त निर्णयविरुद्ध पनि कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए । १४ जेठमा सर्वोच्चले सभामुखको निर्णय बदर गर्दै मुख्यमन्त्री अधिकारी पदमुक्त भएको फैसला सुनाएको थियो ।


२७ सदस्य रहेको संसद्को ठुलो दल कांग्रेस संसदीय दलका नेता पाण्डेले ५७ दिनमा फेरि मुख्यमन्त्रीमा पुनरागमन गरेका छन् । नीति तथा कार्यक्रम र बजेटको ल्याउनुपर्ने बेला मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई थप दबाब देखिएको छ ।


मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । तर, पाण्डेलाई बहुमत प्राप्त गर्न सहज भने छैन । खगराजलाई विश्वासको मत दिने बेला तटस्थ बसेको २ सदस्यीय राप्रपाले पाण्डेलाई साथ दिने विश्वास कांग्रेस सांसदहरूको छ । राप्रपाले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । राप्रपाले साथ दिइहाल्यो भने पनि पाण्डेलाई अझै २ जना सांसदको समर्थन आवश्यक पर्छ ।


सत्ता जोगाउने रणनीतिकै साथ पाण्डेले गत ५ चैतमा स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्री बनाएका थिए । उनी पछि फेरि खगराज सरकारलाई साथ दिँदै भौतिक पूर्वाधार मन्त्री नै बने । तिनै मनाङे आफ्नो सरकारमा पनि सहभागी हुने पाण्डेको विश्वास छ ।
माओवादीको चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले पनि आफूलाई विश्वासको मत दिने पाण्डेको विश्वास छ ।
यसैबीच, नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित २ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेसहित कांग्रेसबाट सामाजिक विकासमन्त्री बनेका विन्दुकुमार थापा अर्थमन्त्री बनेका टकराज गुरुङलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन् ।

प्रतिक्रिया