निद्रामै बलात्कार

Wns_simoपन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बेलायती अभिनेता साइमन मोरिस आठ वर्ष जेलमा थुनिनुपर्ने भएको छ । हालै अदालतले किशोरीलाई रक्सी पिलाएर बलात्कार गरेको ठहर गर्दै यी टेलिभिजन अभिनेताविरुद्ध यस्तो सजाय सुनाएको हो ।
४२ वर्षीय मोरिसले भने आफूलाई निद्रासम्बन्धी रोग सोक्सोमनिया रहेको र त्यसैका कारण आफूलाई थाहै नभई यो घटना भएको रटान लगाउँदै आएका छन् । उनका अनुसार त्यतिबेला उनी गहिरो निद्रामा थिए र केके भयो केही थाहा थिएन । कार्डिफ क्राउन कोर्टका न्यायाधीशले भने मोरिसको यो दाबी उनले धाराप्रवाह रूपमा बोलिरहेको झूटो कुराबाहेक केही नभएको बताए । सुनुवाइमा बताइएअनुसार मोरिसले एक पार्टीका दौरान स्याम्पेन वितरण गर्ने काममा ती किशोरीलाई सघाएका थिए । तर, भोलिपल्ट बिहानै ती किशोरीको कोठामा छिरेर उनीमाथि जबर्जस्ती गरेका थिए । सुरुमा उनले रक्सी पिलाएर ती किशोरीलाई लन्डनमा आफूसँगै बस्न फकाएका थिए । यसबीच ती किशोरीलाई भेटेर आफ्नो एक्टिङ करियरबारे अनेकौं डिंगा हाँक्दै फकाउने प्रयास पनि मोरिसले गरेको न्यायाधीशले बताएका छन् ।
मोरिस रोगका कारण भएको गल्तीमा आफूले सजाय पाउन नहुने दाबी गरिरहेका छन् । डाक्टरी जाँचमा उनलाई निद्रामा हिँड्ने समस्याका साथै सेक्सोमनिया रहेको कुरा पूरै अस्वीकार गर्न सकिने अवस्था भने नरहेको उल्लेख गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया