बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा निःशुल्क कम्प्युटर कक्षा सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा सञ्चालनको उद्घाटन गरेसँगै निःशुल्क कम्प्युटर कक्षा सञ्चालनमा आएको छ । जेठ २ गतेबाट सुरु भएको निःशुल्क कम्प्युटर कक्षा सञ्चालन वडाध्यक्ष सुनीलकुमार गुप्ताको कार्यकालसम्म चल्नेछ ।
जितपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनीलकुमार गुप्ताको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी रहेका थिए । निःशुल्क कम्प्युटर कक्षा सञ्चालनको उद्घाटन कार्यक्रममा बोल्दै मधेस प्रदेशसभा सदस्य चौधरीले आजको २१औँ शताब्दीमा विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्ने सचेत र सशक्त नागरिक उत्पादन गर्न सूचना र प्रविधिमा आधारित कम्प्युटर शिक्षा प्रदान गर्न नीति तथा रणनीति अवलम्बनमा विलम्ब गर्नुहुँदैन भन्ने उद्देश्यका साथ वडाले सञ्चालन गरेको निःशुल्क कम्प्युटर कक्षा सञ्चालन सराहनीय रहेको बताए । त्यस्तै उनले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालय जितपुरले गरेको प्रगतिको प्रशंसा गर्दै यस विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्न आफू सधैँ तत्पर रहेको र अगामी दिनमा पनि रहने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले अरू नगरपालिकाको तुलनामा जितपुरसिमरा उपमहानगरपालिकाको शिक्षाको अवस्था अलि कमजोर भएकोले शिक्षा अवस्थालाई सुधार गर्नमा सबैले सहकार्य गरेर अगाडि बढनुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगबाट सेवामा सहज पहुँच, गुणस्तरमा बढोत्तरी, व्यवसायमा अभिवृद्धि गर्ने उदेश्यका साथ वडा–७ को कार्यालय जितपुरले २ जेठदेखि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरेको वडाध्यक्ष सुनील कुमार गुप्ताले बताए । कम्प्युटरको प्रयोगबाट सूचना संकलन गर्ने, प्रशोधन गर्ने, प्रयोग गर्ने, सञ्चार गर्ने र सुरक्षित सञ्चय गर्नेजस्ता महत्वपूर्ण कामहरू छिटोछरितो रूपमा सम्पन्न गर्न सहज हुने भएकोले हामीले वडास्तरीय बजेटबाट कार्यक्रम आफ्नो कार्यकालसम्म सञ्चालन गर्ने वडाध्यक्ष सुनील गुप्ताले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख भोलाप्रसाद अधिकारीले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा दिनानुदिन विद्यार्थीहरूको संख्या बढदै गएको तर भवनको अभाव रहेको हुनाले जितपुरसिमरा उपमहानगरले बजेटसमेत छुट्याएको र अगामी दिनमा समेत विद्यालयलाई उपमहानगरले सहयोग गर्ने बताए । जितपुरसिमरा उपमहानगरपालका भित्रका सबै वडाबाट सहभागिता हुने गरी करिब ४०० विद्यार्थीहरूको सहभागितामा यो कम्प्युटर कक्षा सञ्चालनमा आएको हो । एक सिफ्टमा ४० जनासम्म पढ्न मिल्ने यस सिकाइलाई बिहान र बेलुका गरी सञ्चालनमा ल्याएको फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयको प्रधानध्यापक राजु सिंहले बताए ।
निःशुल्क कम्प्युटर कक्षा सञ्चालनका लागि सूर्य नेपालले १५ वटा कम्प्युटर, एउटा युपिएस र १ थान प्रिन्टर सहयोग गरेको छ भने वडा कार्यालयले २० वटा कम्प्युटर सहयोग गरेको छ ।
बारा
प्रतिक्रिया