रौतहटमा संग्रहालय बनाउने प्रयासहरू प्रयासमै सीमित छन् । आधा दशकभन्दा लामो समयदेखि चर्चामा रहेको मधेस संग्रहालय निर्माणकै क्रममा राजनीतिको सिकार भएको छ । रौतहटको गढीमाई नगरपालिकामा बनाइने भनिएको युद्ध संग्रहालय घोषणामै सीमित रहेको छ । अन्य पालिकामा पनि संग्रहालयको चर्चा नभएको होइन तर अन्यत्र खासै कुनै सकारात्मक कदम नचालिएको अवस्थामा रौतहटको मौलापुर नगरपालिकाले भने पहिलो कदम चालेको छ । मौलापुर नगरपालिकाको पतौरा गाउँमा रहेको पुरातात्विक महादेव मन्दिरको प्रांगणमा ‘पुरातात्विक संग्रहालय’ को स्थापना तथा सञ्चालन गरेको छ ।
कला, संस्कृति र कुस्तीको संरक्षणको लागि हरेक वर्ष विशाल मेला आयोजना आएको मौलापुर नगरपालिका पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको छ । मौलापुरको पतौरामा उत्खनन्बाट महादेवको मन्दिर र मूर्ति प्राप्त भएको तथा अझै पनि उत्खनन् भइरहेकोले अझै पनि धेरै महत्वपूर्ण सामग्रीहरू भेटिने क्रम जारी रहेको छ ।
पुरातात्विक महादेव मन्दिर परिसर तथा अन्य ठाउँको उत्खनन् गर्दा देखिएका विभिन्न सामग्रीहरू, उत्खनन् हुँदाको अवस्थाका चित्रहरू तथा मधानी महोत्सव गर्दाका विशिष्ट तस्बिरहरू यहाँ राखिएका छन् । महादेवसित सम्बन्धित केही महत्वपूर्ण सामग्रीहरू पनि राखिएका छन् । संग्रहालयको लागि छुट्याएको भवन कुनै विशाल छैन तर संग्रहालयको लागि थालिएको कामचाहिँ विशाल रहेको छ । यो आफैँमा महत्वपूर्ण र विशिष्ट कार्य हो ।
मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले मौलापुरको मुख्य पहिचान बनिसकेको पुरातात्विक महादेव मन्दिरको पहिचानलाई अझ विस्तार गर्न यस क्षेत्रमा भेटिएका महत्वपूर्ण सामग्रीलाई भौतिक तथा चित्रको रूपमा भए पनि सुरक्षा गरी भविष्यलाई हस्तान्तरण गर्नु महत्वपूर्ण भएको बताउँछिन् । गत केही वर्षदेखि सञ्चालनमा रहेको पुरातात्विक संग्रहालय दर्शनाथीको एउटा आकर्षणको केन्द्र बनेको छ । पुरातात्विक महादेव मन्दिरको दर्शन गर्न आउने विशिष्ट महानुभावहरू एकपटक पुरातात्विक संग्रहालयको अवलोकन गरेर यहाँको वर्तमान र विगतबारे बुझ्ने मौका पाउँछन् । सयौँ शब्दमा बयान गर्न नसकिने कुरा एउटा चित्रले बयान गरिरहेको हुन्छ ।
यसैगरी एउटा दृश्यले कैयौँ युगको प्रतिनिधित्व पनि गर्न सकेको हुन्छ । पुरातात्विक संग्रहालयले एक साथ कैयौँ महत्व राखेको हुनाले यसमा दर्शनार्थीको संख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । पुरातात्विक महादेव मन्दिर र पुरातात्विक संग्रहालय एक अर्काका लागि प्रचारप्रसारको सहयोगी सिद्ध भएको यहाँका स्थानीयको भनाइ छ ।
इतिहास तथा पुरातत्वमा अभिरुचि लिनेको लागि पुरातात्विक संग्रहालय आफैँमा आकर्षणको केन्द्र बनेको छ । हरेक पालिकाले आफ्नो क्षेत्रका विशिष्ट पक्षलाई भोलिको लागि सुरक्षा गर्नुपर्ने गरी मौलापुर नगरपालिकाबाट सिक्नुपर्ने धेरै कुरामध्ये एउटा पुरातात्विक संग्रहालय पनि रहेको छ । खासै धेरै सामग्री नरहेको तर केही सयको संख्यामा रहेका भौतिक सामग्री तथा चित्रहरूले मौलापुर पुरातात्विक महादेव मन्दिरको इतिहास तथा संरक्षणका लागि चालिएका प्रयासहरूबारे धेरै कुरा बोल्न सकेको छ । आफ्नो विशिष्टतामा यही कुरा हरेक पालिकाका लागि निकै महत्वपूर्ण हुन्छ । पुरातात्विक संग्रहालय हेर्नका लागि आएका एक पर्यटक भन्छन् – सानो तर अत्यन्त विशिष्ट कार्यको नमुना पेस गरेको मौलापुर नगरपालिकाबाट अन्य स्थानीय सरकारले धेरै थोक सिक्न सकिने देखिन्छ ।
पुरातात्विक संग्रहालयको काम हरेक वर्ष अगाडि बढिरहेको र यसको महत्व स्थानीय तहमा सर्वसाधारणले पनि बुझ्दै गएकाले अबको दिनमा यसमा थप काम गर्ने हौसला प्राप्त भएको नगरप्रमुख साहको भनाइ छ । संग्रहालयलाई मुख्य गरी कलाकार, साहित्यकार, संस्कृतिकर्मी र इतिहासका अध्येताहरूले हेर्ने गरेको नगरप्रमुख साहको भनाइ छ । आफ्नै पालिकाका साथै विभिन्न पालिकाबाट शिक्षकसहित विद्यार्थीहरू पनि संग्रहालयको अवलोकन भ्रमण गर्ने गरेका छन् । संग्रहालयको अवलोकनमा कुनै शुल्क राखिएको छैन । सबै व्यवस्थापन तथा सञ्चालन पालिकाबाटै हुने गरेको छ । संग्रहालयको प्रचारप्रसारमा अलिकति ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइलाई नगरपालिकाले मनन गर्नुपर्ने आवश्यकता रहेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया