बेइजिङ । शीतयुद्धपछि संसार फेरि एकपटक ध्रुवीकरणको बाटोमा गएको छ । बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका समकक्षी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच गम्भीर वार्ता भएको छ ।
युक्रेनमा आक्रमण गरेपछि अमेरिका र निकट शक्तिहरूले रुसमाथि प्रतिबन्ध लगाएका छन् । सोही प्रतिबन्धको समयमा चीन भने रुसको मुख्य सहयोगीका रूपमा देखापर्न तयार भएको छ ।
सहयोगबारे आपसी सल्लाह भए पनि चीनले बारम्बार रुसलाई सैन्य सहयोग गरेको कुरा अस्वीकार गरिरहेको छ । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्थोनी ब्लिंकेनले भने चीनले मिसाइललगायत उपहरणहरू चीनलाई दिएर वातावरण खराब बनाइरहेको आरोप लगाएका छन् । उनका अनुसार रुसमा अहिले पनि ७० प्रतिशत मेसिनरी सामान र ९० प्रतिशत माइक्रो इलेक्ट्रोनिक्स सामग्री चीनबाट आउने गर्छ ।
गएको मे महिनामा मात्र वासिङ्टनले २० फर्मलाई प्रतिबन्ध लगाएको थियो । यसरी प्रतिबन्ध लगाइएका ती २० फर्म हङकङ र चीनमा आधारित थिए । ती फर्मका सामग्री चीनबाट युरोप र पश्चिम हुँदै रुससम्म पनि पुग्ने गरेका थिए ।
चीनले भने रुससँगको व्यापारिक कारोबारको नीतिलाई बचाउ गर्दै यसमा सैन्य रुची नभएको जनाएको छ । चीनले हरेक महिना ३०० मिलियन अमेरिकी डलर बराबरको सामग्री रुसमा निर्यात गर्छ । यसमा व्यावसायिक र सैन्य उपकरण दुवै रहने गरेका छन् । यसमा हतियार बनाउन अत्यावश्यक पर्ने सामग्री पनि छन् ।
बेइजिङ पनि मस्कोका केही उत्पादनको मुख्य बजार हो । कार, कच्चा पदार्थ र अन्य धेरै वस्तु पश्चिमा देशले खरिद नगर्ने भएपछि ती उत्पादनको मुख्य बजार चीन बनेको हो । रुसले युक्रेनमा आक्रमण गरेपछि चीन र रुसबीचको व्यापारमा ६४ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा रुसले चीनबाट १११ अर्ब अमेरिकी डलर बराबरको सामान आयात गरेको थियो भने १२९ अर्ब बराबर निर्यात गरेको थियो ।
अहिले यो व्यापारमा ९० प्रतिशत अमेरिकी डलरको प्रयोग भएको छ । त्यसलाई विस्थापित गर्दै कसरी आफ्नै मुद्रा प्रयोग गर्ने भन्ने विषयमा पनि पुटिन र सीबीच छलफल भएको बताइएको छ । यी २ देशबीच बजेटको नयाँ योजना पनि तयार गर्ने सहमति भएको बताइन्छ ।
सन् २०२३ मा चीन रुसको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने रुस चीनको छैटौँ ठुलो व्यापारिक साझेदार हो । रुसको सबैभन्दा ठुलो उत्पादनको क्षेत्र ग्यास र तेल हो । युक्रेन आक्रमणअघि अमेरिका, युरोप र बेलायत रुसी ग्यास र तेलका लागि मुख्य बजार थिए । अहिले प्रतिबन्ध लागेपछि एसिया रुसको मुख्य बजार भएको छ । पछिल्लो समय रुसी तेल र ग्यासको मुख्य बजार चीन र भारत हो ।
प्रतिक्रिया