बझाङ । सुदूरपश्चिम प्रदेश पहाडीको हिमाली जिल्ला बझाङको साइपाल गाँउपालिकाले यार्सागुम्बा संकलन कर्ताहरुबाट पाँच लाखभन्दा बढी राजस्व संकलन गरेको छ । गाँउपालिकाले एक महिनाको अवधिमा ५ लाख ८५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको साइपाल गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाले अघिल्लो आर्थिक वर्षमा यार्सा संकलकहरुबाट दश लाखभन्दा बढी राजस्व संकलन गरेको थियो । यो वर्ष पनि सो रकमभन्दा बढी नै यार्सा संकलकहरुबाट राजस्व संकलन गर्ने योजना रहेको यार्सा कर संकलक दिपक बेहराले बताए ।
कर संकलक बोहराले गाँउपालिकाभित्र पर्ने साइपाल हिमालको वरिपरीका पाटनहरुबाट जिल्लाका छिमेकी गाँउपालिका तलकोट गाँउपालिका र सुर्मा गाँउपालिकाहरु बाहेक जिल्लाभरिका पालिकाहरुबाट वर्षेनी यार्सा संकलन गर्न आउने भएकाले पालिकाको विकासका लागि यार्सा संकलकहरुबाट कर उठाउने र पालिकाको खातामा जम्मा गर्ने गरेको बताए ।
साइपाल गाँउपालिकाले छिमेकी गाँउपालिका तलकोट र सुर्मा गाँउपालिकाका यार्सा संकलकहरुबाट रु पाँच सय, जिल्लाका अन्य पालिकाहरुबाट आउनेहरुलाई एक हजार, जिल्लाभन्दा बाहिरका सुदूरपश्चिम प्रदेशभित्रका जिल्लाहरुबाट आउनेलाई दुई हजार पाँच सय र अरु जिल्लाहरुबाट यार्सा संकलन गर्न आउनेहरुबाट तीन हजार रुपैयाँ लिने गरेको उनले बताए ।
जिल्लाको सुर्मा, साइपाल, छविस तथा बुंगल, मस्टा जयपृथ्वी छविसपाथिभेरा लगायतका पालिकाहरुबाट वैशाख महिनादेखि असार महिनको अन्तिमसम्म यार्षागुम्बा संकलनका लागि हिमाली क्षेत्र पाटनतिर जाने गरेका छन् ।
बझाङ
प्रतिक्रिया