मधेस ब्युरो । हिउँद महिनामा लगाएको मकैको उत्पादन राम्रो हुनेमा किसानहरू ढुक्क रहेका छन् । रौतहटको मौलापुर नगरपालिका–९ सोनरनियाका मकै खेती गरेका किसान उत्पादन बढ्नेमा ढुक्क देखिएका हुन् । मकैमा राम्ररी घोघा र दाना लागेको तथा अब भाँच्ने बेला भइसकेकाले उत्पादन राम्रो हुनेमा किसानहरू विश्वस्त भएका हुन् ।
सोरनियाका मकै किसानहरू शनिदेव प्रसाद यादव, भुलावन कुर्मी, राकेश यादव तथा गगनदेव मुखिया बिनले मकैको उत्पादन राम्रो हुने बताएका छन् । अब केही दिनमा मकैको घोघा भाँच्ने बेला भएको र अहिलेसम्म मकैखेतीको सबै अवस्था राम्रो रहेकोले उत्पादन राम्रो हुने विश्वास रहेको किसानहरूको भनाइ छ ।
रौतहटको चन्द्रपुर, फतुवा विजयपुर, वृन्दावन र गुजरा नगरपालिकामा मकै खेती निकै हुने गरेको छ । यसै गरी बौद्धिमाई र मौलापुर नगरपालिकाका किसानहरूले पनि मकै खेती राम्रैसित गर्ने गरेका छन् । रौतहटमा हिउँदै मकै खेती सबैभन्दा बढी हुने गरेको कृषि ज्ञान केन्द्र रौतहटका कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी गराएका छन् । गत वर्षको तुलनामा यस वर्ष ७ देखि ८ प्रतिशत मकै खेतीमा बिस्तार भएको कुर्मीको भनाइ छ ।
वर्षे र वसन्ते मकैभन्दा हिउँदै मकैको खेती रौतहटमा बढी हुने गरेको बताउँदै कार्यालय प्रमुख कुर्मीले रौतहटमा मकै खेती बिस्तार भएको र गत वर्षभन्दा मकैको उत्पादन पनि बढ्ने सम्भावना भएको बताए । हिउँदे मकै खेतीमा केही समय पहिले रौतहटको बौद्धिमाई र मौलापुरको केही खेतमा घोघामा दाना नलाग्ने समस्या देखिएको तर समग्रमा अहिले अवस्था ठिक रहेको उनी बताउँछन् ।
मकै खेतीबाट किसानहरूलाई राम्रो आम्दानी हुने गरेकोले किसानहरू मकै खेतीतर्फ आकर्षित भएका हुन् । पहिले मुख्य गरी उत्तरी क्षेत्रमा हुने गरेको मकै खेती बिस्तारै मधेस प्रदेशको अन्य जिल्लामा पनि दक्षिणी क्षेत्रसम्म विस्तार हुँदै गएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया