जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका मेयरले ज्यादती गरेको भन्दै परिवर्तनकारी शक्तिका नेता कार्यक्रताहरूले सामुहिक रूपमा गिरफ्तारी दिन प्रहरीचौकी पुगेका छन् ।
मेयरले गरेको ज्यादतीविरुद्व आफूहरू गत १० वैशाखबाट थालेको आन्दोलनमा १० गते नगरपालिकाको कुरीति र विसंगति विरुद्वमा गरेको शान्तिपूर्ण जुलुस र धर्नामा नगरपालिका भित्रबाट २०–३० जना अराजक व्यक्तिहरू प्रयोग गरी ढुंगामुढा गराइनुका साथै गाडीहरूमा तोडफोड गरिएको भन्दै आन्दोलिन बनेका छन् ।
उनीहरूले आन्दोलनका संयोजकसमेत रहेका वडा–६ का वडा अध्यक्ष उमेशकुमार निराललाई लाठी प्रहार गराइनुका साथै उनलाई पक्राउसमेत गरिएको भन्दै आफूहरूलाईसमेत पक्राउ गर्न भन्दै सामुहिक गिरफ्तारी दिन पुगेका थिए । नेकपा एसका वरिष्ठ नेता रामचन्द्र झा, सहिद नगरपालिकाका पूर्वमेयर उदय यादव बरबरियासहित दर्जनौँ नेता कार्यकर्तासहित इलाका प्रहरी कार्यालय यदुकोहामा गिरफ्तारी दिन पुगेका उनीहरूले वडा अध्यक्ष निरालको रिहाइको माग गरेका छन् ।
वडा अध्यक्ष निरालसहितका माथि लगाइएका सबै झुठा मुद्दा फिर्ता र स–सम्मान रिहाइ, अनधिकृत रूपमा नियुक्त गरिएका तृतीय श्रेणीका प्रावि शिक्षक तथा शिक्षा शाखा प्रमुख विवादस्पद विश्वनाथ यादवको काज फिर्ता, आव २०७९÷०८० देखि हालसम्म भएका भुक्तानी र नियुक्तीको विवरण सार्वजानिक तथा बाँकी रहेका भुक्तानी अविलम्व दिनुपर्ने, अवैध रूपमा हाजिरी रोक्का गरिएकी बालविकास शिक्षिकाहरूको पुनः हाजिरी गरिनुपर्ने सहितका ७ सूत्रीय माग राख्दै उनीहरू सामुहिक गिरफ्तारी दिन पुगेका थिए ।
नेता झा र पूर्वप्रमुख बरबरियाले नगरपालिकामा भइरहेको विभिन्न अवैध काम, अनियमितता, विसंगतीहरूबारे बुझ्न खोज्दा नगरप्रमुखले देखाएको रबैया खेदजनक रहेको बताउँदै आफूहरूको संर्घष जारी रहने बताए ।
प्रतिक्रिया