चितवन । ठेकेदार कम्पनीको लापरवाहीले माडी नगरपालिका भित्र पर्ने एकिकृत मुगई सिंचाई तथा तटबन्धन परियोजना अलपत्र परेको छ । सपना शिवशक्ति कन्ट्रक्सनले लापरवाही गर्दा परियोजनाको काम अलपत्र बनेको हो ।
२०७७ असोज २२ सम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्ने गरि मिति २०७४ असोज २३ मा सम्झौता भएको सो परियोजनामा हालसम्म ६१ प्रतिशतमात्र काम भएको जलश्रोत तथा सिंचाई विकाश डिभिजन कार्यालय चितवनले जनाएको छ ।
सिंचाई डिभिजन चितवनले पटक पटक निर्देशन दिंदासमेत निर्माण कम्पनीले नटेर्दा परियोजना अलपत्र बनेको सरोकारवालाहरुको भनाइ छ । ७ सय ७७ हेक्टरमा सिंचाई हुने सो परियोजना सम्पन्न भएमा १ हजार ३ सयभन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ ।
तोकिएको समयभन्दा तीन वर्ष ढिलो हुँदासमेत परियोजनाको काम सम्पन्न नहुनाको कारण पेस गर्न जिलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, चितवनले सोमबार निर्देशन जारी गरेको छ । तीन दिन भित्र ठोस प्रमाणसहित उपस्थित नभए नियमानुसार ठेक्का सम्झौताको अन्त्य गर्ने चेतावनी समेत डिभिजन कार्यालय दिएको छ ।
माडी नगरपालिका २, ४, ५ र ६ वडालाई समेट्ने सो परियोजनाको काम अविलम्ब सुचारु गर्न पटक पटक फोन तथा पत्रबाट ताकेता गर्दा पनि निर्माण कार्य गर्न कुनै तत्परता नदेखाएकोले अन्तिम निर्देशन दिइएको डिभिजनले जनाएको छ ।
एकिकृत मुगई सिंचाई तथा तटबन्धन परियोजनाको काम समयमै सम्पन्न गराइदिन भन्दै माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतोको नेतृत्वको समुहले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, चितवनमा ज्ञापनपत्र बुझाएको थियो । उपमेयर महतोको नेतृत्वमा वडा नम्बर ४ का वडाध्यक्ष माधव प्रसाद चापागाईँ, ५ का वडाध्यक्ष गणेश घताने, वडा २ का वडाध्यक्ष डण्डपाणी पौडेल, सिंचाई आयोजनाका उपभोक्ता समितिका अध्यक्ष प्रभानन्द तिवारी, माडी–भरतपुर सम्पर्क मञ्चकी अध्यक्ष विष्णु कुमारी क्षेत्रीलगायत उपभोक्ताहरुले ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा समयमै काम नहुँदा निर्माण भएका संरचनामा पनि क्षति हुन सक्ने भन्दै यथशिघ्र काम सम्पन्न गर्ने प्रवन्ध मिलाइदिन ध्यानाकर्ष गराइएको छ ।
प्रतिक्रिया