साहित्य लेखन ‘एकादेशमा एक थिए’ भन्ने परम्परागत कथावाचन नभए पनि जुनसुकै शैली र वादलाई पछ्याएर लेखिने आख्यान आखिर कथा नै हो । यसलाई अनुभूतिको कथा भन्नुस् चाहे घटनाप्रधान कथा नै । यस मानेमा यस लेखमा म साहित्यका कथावाचक भनेर लेखकलाई सम्बोधन गर्नेछु । र, आधा आकाश धानेका महिलामध्ये आकाशमा नांगो आँखाले देख्न सक्ने ताराहरू होइन । चम्किरहे पनि आँखाले देख्न नसकिने ताराहरूको बारेमा कुरा गर्न जाँदै छु ।
साहित्यका कथावाचक प्राय: पुरुष छन् । उनीहरूका तुलनामा महिला कथावाचक नगन्य छन् । यो तथ्यलाई स्थापित गर्न सायद तथ्यांकको सहारा लिनु नपर्ला । चाहिने नै हो भने तपाईंले विश्वका चार प्रतिष्ठित साहित्यिक पुरस्कारको तथ्य केलाए पुग्छ । नोबेल साहित्यिक पुरस्कार, नियुसटाड् ईन्टरनेसनल साहित्यिक पुरस्कार, फ्रान्ज काफ्का पुरस्कार र म्यान बुकर ईन्टरनेसनल साहित्य पुरस्कार । यीमध्ये सबैभन्दा पुरानो नोबेल साहित्य पुरस्कार (सन् १९०१) ले अहिलेसम्म एकसय नौ जनालाई पुरस्कृत गरिसकेको छ । र, तीमध्ये बाह्र लेखिकामात्र पुरस्कृत भएका छन् ।
साहित्यमा लेखकको दाँजोमा लेखिकाको उपस्थितिको यो रेसियो हाम्रो देशको पनि सत्यता हो । यस हिसाबले समाजका आधिकारिक कथावाचक पुरुष नै हुन्छन्–पुराणका कथावाचकदेखि साहित्यका अजर अमर कथाका रचनाकारसम्म । तर, यो सत्य भए पनि यथार्थचाहिँ होइन । किनभने हामी हाम्रा हजुरआमा, आमा र दिदिले भनेका कथामा हुर्केका हौँ । अनौपचारिक कथावाचक भनौं न † म तपाईंहरूलाई आफ्नै अनुभव सुनाउँछु ।
सानी छँदा घरमा टिभी थिएन । कि कमिक्स पढ्ने कि पत्रिका पढ्ने माहोल थियो घरमा । बाहिर भिडियोमा फिल्म हेर्न हामी बच्चाहरूलाई अनुमति थिएन, न फिल्म हल लगिदिने कोही थियो । त्यसैले हामी बच्चाहरूका लागि मनोरञ्जन भनेको कथा सुन्नु हुन्थ्यो । सानी हुँदा कथाको प्यास लागे पनि तिर्खा मेटाउने ढंगका कथावाचक भेटिँदैनथे । हुन त ठूलाहरू फिल्म हेर्न गइरहेकै हुन्थे, भिडियोमा कि नभए हलमा । तर, कथावाचन ती सबैले गर्न जान्दैनथे । कथा सुन्दै हुर्किएको भए पनि म जो पायो त्यसैलाई कथा भन्न लगाउँदिनथँे । जसले फिल्मको सस्पेन्स अन्त्यसम्म बरकरार राख्थ्यो र जसले कमेडियनको सिन पनि हुबहु भन्न सक्थ्यो, दमदार कथावाचक मेरो लागि त्यही हुन्थ्यो ।
ती दिन एकजना आफन्त पर्ने दिदी थिइन् । पर्ती दिदी भन्थ्यौँ हामी । उनी रिलिज भएका कुनै पनि फिल्म छुटाउँदिनथिइन् । फिल्म हेरेर आएपछि हामी उनलाई फिल्मका कथा भन्न कर गथ्र्यौं । हामी खाना खाएर उनको घर पुग्थ्यौँ । उनी फिल्मका कथा भन्ने मुड बनाएर बसेकी हुन्थिन् । उनको कथावाचनशैली यस्तो हुन्थ्यो, मानाँै हामी आफैँ फिल्म हेरिरहेका छौँ । ट्याक्क एक घन्टा लाग्थ्यो कथावाचनमा । उनले कथा भन्न थालेपछि घरबाट जो बोलाउन आए पनि हामी मरिगए डेग हल्लिदैनथ्याँै । त्यतिबेला चलेको फिल्म ‘राम तेरी गंगा मैली’ को कथा उनले सुनाएपछि यति मन पर्यो कि हामी फिल्म हेर्न गयौँ । तर, मलाई फिल्मभन्दा उनले भनेको फिल्मको कथा पो मज्जा लागेको अनुभव भयो । हो, फिल्मको कथाभन्दा पनि उनको कथावाचनशैली मीठो थियो ।
अहिले पनि टोल–छिमेकमा कसैको घरमा अगति परेको छ भने पर्ती दिदीसित म त्यसको विवरण सुन्न जान्छु । उनी यति कथानक तरिकाले त्यो मान्छेको केस हिस्ट्री भन्छिन् कि म अचम्म पर्छु । सोच्छु, यदि उनी लेखिका भइदिएकी भए कति जम्थिन् होला लेखनमा † तर, कथावाचन गर्ने कुशलता भए पनि उनको प्रतिभा त्यसमै सीमित भयो । पढ्ने, लेख्ने वातावरण भइदिएको भए उनी साहित्यमा राम्रैसँग लहसिन पाउँथिन् अनि लेख्न प्रेरित पनि हुन्थिन् । र, उनले कथावाचनदेखि कथालेखनसम्मको सफल यात्रा तय गर्थिन् होला ।
होस्टेल बस्दा मेरी एकजना साथी थिई । उसको घरमा भिसीआर थियो । छुट्टीको बेला ऊ रिलिज भएका नयाँ फिल्म हेरेर आउँथी । र होस्टेल फर्केपछि फिल्मको कथा सुनाउँथी । ऊ पनि पर्ती दिदी जत्तिकै थिई, कथा वाचन गर्न । हुँदाहुँदा यत्तिसम्म हुन्थ्यो कि कसैले फलानो फिल्म हेरेको छ भनेर सोध्दा, म ‘हेरेकी छु’ भनिदिन्थेँ । एकएक सीन जो मलाई कण्ठ हुन्थ्यो । एकपटक त ‘डर’ फिल्मको कथा उसले मलाई लगनखेलदेखि कुपन्डोलसम्म हिँड्दै सुनाई । पुल्चोकमा डेरा थियो मेरो । घर पुगेपछि छुट्नुपर्ने भए पनि म लुखुरलुखुर उसँगै हिँडिरहँे, कथा नसकिन्जेलसम्म । यसरी मन्त्रमुग्ध तरिकाले कथा भन्न सक्ने मेरी साथी अहिले गृहस्थीको जन्जालमा फसेकी छे ।
महिलाहरूले वाचन गरेका कथा सुनेर हुर्के पनि म अहिले लखिएका कथामा बाँचिरहेकी छु । ती प्राय: पुरुषले नै लेखेका कथा छन् । विश्व साहित्यका उत्कृष्ट रचना प्राय: पुरुषद्वारा नै लेखिएका छन् । आजकाल म पनि कथा लेख्छु । त्यसैले मेरो संगतको घेरा साहित्य लेख्ने जमातसम्म फैलिएको छ । धेरै त पुरुषकै संगत भइरहेको हुन्छ । उनीहरूले भनेको सुन्छु, ‘फलानोले कति मीठो तरिकाले आफ्नो अनुभव सुनाउँछ ।’ त्यतिबेला म झल्याँस्स हुन्छु । साँच्चै † महिलाहरू अरूको कथा भनिरहेका हुन्छन् । तर, पुरुषहरू प्राय: आफ्नो अनुभवको कथा सुनाइरहेका हुन्छन् । यही कुराले यहाँ फरक पारिरहेको छ । तर, यस्तो किन ?
महिलासँग अनुभवको कथा नभएरै हो त नभनिएको ? घरपरिवारको भवसागरमा घाँटी–घाँटीसम्म डुबेका महिलासँग आफ्नो मात्र होइन, टोल छिमेकका पनि कथा हुन्छन् । तर, ती कथा–व्यथा केबल गफीसको रूपमा भनिन्छ, सुनिन्छ अनि सकिन्छ । कथा बुन्न चाहिने कच्चापदार्थ पर्याप्त भएर पनि महिलाले यसलाई गफिसमै सीमित गरेका छन् । आखिरमा बेलायती लेखिका जेन अस्टिनको प्रसिद्ध उपन्यास ‘सेन्स एन्ड सेन्सीबिलीटी’ र ‘प्राईड एन्ड प्रेजुडिस’ घरभित्रका कथा–कुथुंग्रीको प्लट त हुन नि † सन् १८११ र १८१३ मा लेखिएको यी दुई उपन्यास दुईसयवर्ष पछाडि आज पनि उत्तिकै रौसिएर पढिन्छन् ।
त्यसो भए पुरुषले आफूलाई व्यक्त गर्न सक्ने तर महिला लेखनमा अभिव्यक्त हुन किन नसक्ने ?
जरुरी छैन कथावाचन गर्न सक्नेले कथा लेख्न सकून् । त्यसमा आत्मपरक र वस्तुपरक दुवै खाले अभिव्यक्ति चाहिन्छ । अनुभवलाई विश्लेषण गर्नसक्ने दृष्टिकोण चाहिन्छ । तर, यो समाजले महिलालाई आफ्नो कुरा व्यक्त गर्न प्रोत्साहित गर्दैन, महिला अभिव्यक्तिलाई गन्थनको संज्ञा दिन्छ र पुरुषको गन्थनलाई बौद्धिक मन्थन भन्छ ।
बेलायतकी अर्की लेखिका भर्जिनिया उल्फले ‘साहित्य र महिला’ शीर्षकमा लामो निबन्ध लेखेकी छिन्–‘अ रुम अफ वन्स ओन’ नामक किताबमा । उनले भनेकी छन्, ‘महिलालाई पनि छुट्टै कोठा दिइयोस्, एकान्तमा सोच्न र लेख्न । उनलाई पनि आर्थिक स्वतन्त्रता दिइयोस् बाबु, दाजुभाइ र लोग्नेमाथि भर नपर्न । अनि महिला पनि पछि पर्ने छैनन् साहित्य लेखनमा ।’ यो त भर्जिनिया उल्फले बीसौं शताब्दीको सुरुआततिर भनेकी हुन् । अहिले हामी एक्कासौं शताब्दीमा छौँ । साहित्यमा साधना गर्ने अवस्था महिलाका लागि अझै बनिसकेको छैन हाम्रो देशमा । बल्ल त महिलालाई पनि शिक्षा दिनुपर्छ भन्ने कुरा उठिरहको बेला भर्जिनियाका कुरा हाम्रा लागि दूरका विषय हुनसक्छन् । साहित्यप्रतिको अनुरागलाई दिगो राखिराख्न निरन्तर प्रेरणा, सिर्जनशील लेखनको शिल्पलाई तिखार्न अध्ययन र साहित्य लेखेरै बाँच्न सक्ने आँटलाई घर, परिवार र समाजले धैर्यपूर्वक सहयोग गरिराख्न सक्छ ? (अपवादका कुरा नगरौं यहाँ । तिनीहरूलाई सामान्यीकरण गर्न सकिन्नँ ।)
अहिले क्षमता भएका थुप्रै छन् तर, समाजमा अनौपचारिक कथावाचक भएर खेर गइरहेका छन् । तिनीहरूलाई आफ्नो साम्थ्र्य थाहा पाउन आफन्त/समाजबाटै प्रेरणा चाहिन्छ । क्राइम थ्रिलर जुन परम्परागत रूपमा पुरुषहरूले ओगट्ने विधा हो त्यसमा महिलाहरूले पनि उल्लेखनीय सफलता हात पारिरहेका छन्, स्क्यान्डिनेभियन देशहरूमा । त्यहाँको मानव विकास सूचकांक विश्वमा सबैभन्दा उच्च छ । कुरा स्पष्ट छ–वातावरण र व्यक्तिको प्रतिभा प्रस्फुटन एकअर्कामा सम्बन्धित छ ।
लियो टोल्सटायको ‘वार एन्ड पिस’ को लेखनमा उनकी श्रीमती सोफियाको महत्त्वपूर्ण भूमिका थियो । टोल्सटोयले रिराईट गरेका प्रति उनकी श्रीमतीले सातचोटि हातैले लेखिदिएकी थिइन् । त्यस उपन्यास पेपरब्याकमा चौधसय पाना जति छ । उल्था गरिएको अंग्रेजी भर्सनमा पाँच लाख ६० हजार शब्द छन् । त्यति मात्र होइन, उनकी श्रीमती सोफियालाई तेह्र बच्चा हुर्काउने जिम्मा पनि थियो । अब एउटा जर्खरिएको प्रश्न तेस्र्याउन चाहन्छु–सिर्जनशील लेखनको लागि चाहिने सहयोग र वातावरण महिलाले चाहेमा परिवारले बनाइदिन सक्छ ? विशेषगरी यदि ऊ विवाहित छे भने †
प्रतिक्रिया