वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विदेशी लगानी हाम्रा लागि जति आवश्यकता छ त्यो भन्दा बढी हाम्रा देशका उद्योगी व्यापारी महत्वपूर्ण भएको बताएका छन् ।
बिहीबार मधेस प्रदेशस्तरीय राजस्व चुहावसम्बन्धी गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विदेशी लगानी सम्मेलन हाम्रा लागि जति आवश्यकता हो, त्यो भन्दा बढी हाम्रा देशका उद्योगी व्यापारी हाम्रा लागि महत्वपूर्ण हुन्’, गृहमन्त्री लामिछानेले भने ।
उक्त गोष्ठी बिहीबार गृह मन्त्रालय र मधेस प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा पर्सा जिल्ला वीरगञ्जस्थित क्लार्क होटलको सभाहलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री लामिछानेले देशको आधाभन्दा बढी जनसंख्या ओगटेको मधेसले भ्रष्टाचार, लागुऔषध दुर्व्यसनी, महिला हिंसालगायतका समस्या झेल्नुपरेको र सरकार ती कुरितिहरु नियन्त्रण गर्न र मधेसको विकासका लागि प्रतिबद्धता समेत जनाए ।
गृहमन्त्री लामिछानेले ठेक्कापट्टा, नाला, ढल निर्माण र सडक तथा ठूला–ठूला निर्माण गर्नु मात्रै विकास नभएको र संविधानले प्रत्याभूति गरेको सेवा–सुविधा र शान्ति सुरक्षा प्रत्याभुति गराउनु पहिलो प्राथमिकता भएको बताए । सोही एजेण्डा बोकेर आफूहरु आएको उनले बताए ।
गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा आयोजित राजस्व चुहावटसम्बन्धी गोष्ठी गृह सचिव एक नारायण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अर्थ सचिव डा. कृष्णहरि पुष्कर, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, मधेस प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया