पालिका कप क्रिकेटको उपाधि गौर नगरपालिकाले जित्यो

रौतहट । रौतहट जिल्लामा पहिलो पटक आयोजना गरिएको पालिका कप टि– २० क्रिकेट प्रतियोगिताको उपाधि गौर नगरपालिकाले जितेको छ । फागुन २६ गतेदेखि सुरु भएको पालिका कपको राति भएको फाइनल खेलमा प्रतिद्वन्दी यमुनामाई गाउँपालिकालाई ४५ रनले पराजित गर्दै गौर नगरपालिकाले उपाधि उचालेको हो ।

प्रदेशमै पहिलो पटक रातिमा भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको गौर नगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रनको चुनौतिपूर्ण स्कोर खडा गरेको थियो । गौर नगरपालिकाको तर्फबाट कप्तान सन्नी साहले सर्वाधिक ५३ रनको पारी खेलेका थिए ।

टिमलाई बलियो स्थानमा पुर्याउन राज पटेल ३६, रवि साह १८, करण साह १६ र आशु्तोष सिंहले १६ रनको व्यक्तिगत योगदान दिएको आयोजक संस्थाले जनाएको छ । गौर नगरपालिकाले जितको लागि दिएको १६१ रनको लक्ष्य पुरा गर्न ब्याटिङ गर्न आएको यमुनामाईका ब्याटरले खासै प्रदर्शन गर्न सकेनन् ।

सुरुको ६ ओभरको पावर प्लेमा नै २ महत्वपूर्ण विकेट गुमाएको यमुनामाईले ११५ रन मात्र बनाएर ४५ रनले उपाधि गुमाएको हो । रौतहट जिल्ला क्रिकेट संघले आयोजना गरेको पालिका कपको विजेता टिमलाई नगद रु ३ लाखसहित कपबाट पुरुस्कृत गरिएको आयोजक संस्थाका अध्यक्ष पवन साहले बताए ।

त्यसैगरी उपवेजेता टिमलाई शील्डसहित रु १ लाख ५० हजार नगद रकम प्रदान गरिएको छ । जिल्लाको १८ पालिकाका टिम सहभागी भएको प्रतियोगिताको विजेता र उपविजेतालाई रौतहट निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य नागेन्द्र साहले आफ्नो तर्फबाट ३१ हजार र २१ हजार नगद पुरस्कार प्रदान गरेका छन् ।

प्रतिक्रिया