सहकारी नयाँ पुस्ताको लागि वरदान साबित हुने सहकारीकर्मीहरुको दाबी

मधेस ब्युरो । सहकारीकर्मीहरुले अहिले सञ्चालन गरिएको सहकारी भविष्यमा नयाँ पुस्ताको लागि वरदान साबित हुने दाबी गरेका छन् । ६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा गुजरा नगरपालिकाको आर्थिक सहयोगमा नगरस्तरीय सहकारी समिति सञ्जालको आयोजनामा मंगलबार गुजरा– १ मनहर्वामा आयोजित कार्यक्रममा यस्तो दाबी गरेका हुन् ।

सहकारीले वर्तमानभन्दा पनि भविष्यमा नयाँ पुस्ताको लागि आर्थिक वृद्धि गर्न ठूलो योगदान पुर्याउने सहकारीकर्मीहरुको भनाई थियो । सहकारीमा सुशासन प्रविधी र एकीकरण भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा गुजरा नगरपालिकाका मेयर एवं कार्यक्रमका प्रमुख अतिथि सन्तलाल चौधरीले गाउँ–गाउँमा रहेका विपन्न र मध्यम वर्गीय परिवारको आर्थिक समस्या टार्न अहिले पनि सहकारीले ठूलो योगदान पुर्याईरहेको बताए ।

‘यसले विपन्नको जिवनस्तरमा मात्र होइन नगरको आर्थिक पाटोमा योगदान पुर्याइरहेको छ,’ उनले भने, ‘आर्थिक संकट टार्न नगरवासीलाई बैंक धाउनुपर्ने बाध्यतालाई हटाएको छ ।’ नगरभित्रका सहकारीलाई थप बलियो बनाउन आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत उनले दिए ।

बुद्ध कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी, साना किसान कृषि सहकारी संस्था रंगपुरका अध्यक्ष धर्मेन्द्र धामी, कृषि सहकारी कम्पनी चन्द्रपुर शाखाका प्रमुख गोविन्द घिमिरे, गुजरा नगरपालिका– १ का वडाध्यक्ष रामजी चौधरी, वडा नम्बर २ का वडाध्यक्ष अशोक खाँ थारु, कार्यपालिका सदस्य विजय साह बनिया, महिला साना किसान कृषि सहकारी संस्थाकी रत्ना कुमारी चौधरी, ध्रुवतारा महिला कृषि सहकारी संस्थाकी निला पोखरेल, शिक्षक रामअयोध्या चौधरी, साना किसान कृषि सहकारी संस्था गुजराका मुख्य प्रबन्धक कपुरीलाल बण्ठा लगायतकाले सहकारी दिवसमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरभरका ४३ वटा सहकारी संस्थाका प्रतिनिधि, सदस्य, समाजसेवी, शिक्षाप्रेमी, सञ्चारकर्मीलगायतको उपस्थिती थियो ।

प्रतिक्रिया