जनकपुरधाम । मधेसमा घरेलु हिंसा दिनदिनै बढ्दै गएको छ । एक वर्षअघि बिहे गरेका युवाले पुनः विवाह गरेर कान्छी भित्र्याउँदा जेठी श्रीमती बेघर भएकी छन् । एक युवाले जेठी श्रीमतीलाई शारीरिक यातना दिँदै आफूसँगै नराख्ने, घरबाट निस्की भन्दै पीडा दिएको घटना बाहिरएको छ । सो घटना थाहा पाए लगत्तै पीडित महिलाकी परिवारजनले मुद्दा प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।
धनुषाको सबैला नगरपालिकास्थित इनर्वा र हाल जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित कटैयाचौरी बस्ने राजेश ठाकुरकी छोरी अनिसा ठाकुरको विवाह महोत्तरी पिपरा गाउँपालिका–५ का हर्दियाका सुभाष ठाकुरसँग २०८० वैशाख ८ मा भएको थियो । हिन्दू परम्पराअनुसार भएको सो विवाहमा करिब ३५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । तर, धुमधामले भएको सो विवाह एक वर्ष नपुग्दै धरापमा परेको पीडित परिवारले बताएका छन् ।
वैदेशिक रोजगारमा रहेका सुभाषले विवाह गरेको एक वर्ष नपुग्दै अर्की श्रीमती भित्र्याएर अनिसालाई यातना दिन थालेका थिए । विवाहको १० दिनपछि १८ वैशाखमा अनिशाको ससुरा श्रीनारायण रोजगारका लागि विदेश उड्नुपर्ने थियो । बुबालाई छोड्न सुभाष काठमाडौं गए ।
बुबा विदेश उडिसकेपछि २० वैशाखमा सुभाष काठमाडौंबाट घर फर्किए । २४ गतेसम्म अनिसा–सुभाषको वैवाहिक सम्बन्ध सामान्य नै थियो । त्यसपछि सुभाषले एक्कासि अनिसाको बुबा राजेशलाई फोन गरेर ‘म तपाईंको छोरीलाई राख्दिनँ, लिएर जानुस्’, भने । राजेशले किन नराख्ने भनेर सुभाषलाई प्रतिप्रश्न गर्दा सुभाषको जवाफ थियो, ‘तपाईंकी छोरी लाटी छन्, त्यसैले राख्दिनँ ।’
राजेशले आफ्नी छोरी लाटी भए नभएको पुष्टि डाक्टरले गर्ने भएकाले चेकजाँचका लागि आफू तयार रहेको बताए । अनिसामाथि लाटी रहेको आरोप लगाउँदै उनका श्रीमान सुभाषले कान्छी श्रीमती भित्र्याएपछि जेठी श्रीमती पक्षका परिवारले उनीमाथि बहुविवाहको मुद्दा प्रक्रिया अगाडि बढाउन बाध्य भएको अनिसाका काका सुरेश ठाकुरले बताएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बहुविवाहको मुद्दा दर्ता गर्न निवेदन दिन जाँदा निवेदन लिन अस्वीकार गरेपछि अदालतमा मुद्दा दर्ता गराउने तयारी थालेको अनिसाकी काका सुरेश ठाकुरले बताए ।
मंसिर २६ गते राती कुटपिट गरी केटापक्षले अनिसालाई ससुराली घरबाट निकाला गर्दै जनकपुरधामस्थित माछा बजारनजिक अलपत्र अवस्थामा छाडेर गएको सुरेशले बताए । सो घटनाबारे महोत्तरी प्रहरीमा लिखित तथा मौखिकरूपमा कारबाहीको माग गर्दा पनि बेवास्ता गरेको उनको आरोप छ ।
सुभाषलाई भगाउन सई भरत ठाकुरको प्रमुख भूमिका रहेको सुरेशले दाबी गरे । सुभाषले दोस्रो विवाह गरेको भनिएको केटीसँग प्रहरीले सोधपुछ गरेको छ । गर्भवती रहेकी उनले सुभाषसँग आफ्नो विवाह भएको स्वीकारेकी छन् । आफ्नी भतिजीसँग विवाह गरेर पनि फेरि अर्को विवाह गरेकोले सुभाषविरूद्ध बहुविवाहको मुद्दा दर्ताको तयारी गरेको उनले बताए । तर, मुद्दा प्रक्रियामा नगएर मिलापत्रका लागि आफूहरूमाथि दबाब आइरहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी महिला शेलका तत्कालीन प्रमुख सई लेखनाथ खनालले सुभाषले दोस्रो विवाह गरेको भनिएकी केटीलाई आफूले उद्धार गर्दा उनले विवाह स्वीकारे पनि उनलाई अहिले के कति कारणले रिहा गरिएको भन्नेबारे आफूलाई थाहा नभएको बताए ।
बहुविवाह कसुरसम्बन्धी कानुनी व्यवस्था मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाह कसुरसम्बन्धी व्यवस्थामा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले पनि विवाह गर्न नहुने गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रतिक्रिया