मधेस ब्युरो । बज्जिका भाषाको पहिलो पुरस्कारको लागि स्थापना गरिएको अक्षयकोषमा रकम थप गरिएको छ । तुलसी साहित्य पुरस्कारको अक्षयकोषमा संस्थापक धर्मनाथप्रसाद जयसवालले रकम थप गरेका हुन् । एक दशकभन्दा लामो समयदेखि हरेक वर्ष केही रकम थप गर्दै बिस्तार गर्दै लगेको पुरस्कारको अक्षयकोषमा करिब १ लाख ६० हजार २ सय रुपैयाँ पुगेको छ । संस्थापक जयसवालले ५ हजार १ रुपैयाँ अक्षयकोषमा थप गरेका हुन् । पुरस्कारको रकमको व्यवस्थापन गर्दै आएका साहित्यकार सञ्जय साह मित्रलाई संस्थापक जयसवालले रकम हस्तान्तरण गरेका छन् ।
हरेक वर्ष एक जना कविलाई तुलसी साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ । १० हजार रुपैयाँ पुरस्कार राशि रहेको तुलसी साहित्य पुरस्कारको स्थापना बज्जिका भाषामा साहित्यको विकास र विस्तारका लागि समाजसेवी धर्मनाथ जयसवालले गरेका हुन् ।
नेपालबाट बज्जिका भाषामा प्रकाशित हुँदै आएको बज्जिकार्पण तथा बज्जी साहित्यिक त्रैमासिकमा एक वर्षमा प्रकाशित सम्पूर्ण कवितालाई मूल्यांकन गराई उत्कृष्ट कविताका सर्जकलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको छ । नगदका साथै सम्मानपत्रले सम्मानित गरिँदै आएको तुलसी साहित्य पुरस्कारबाट नेपालका साथै भारतका साहित्यकारहरू पुरस्कृत भइसकेका छन् । गत वर्ष सर्लाहीका साहित्यकार मनमोहनसिंह मनोहरलाई पुरस्कृत गरिएको थियो ।
हरेक वर्ष पुरस्कारको राशिमा वृद्धि गरिँदै लगिने संस्थापक जयसवालले जानकारी गराएका छन् । पुरस्कारले बज्जिका भाषा र साहित्यको सम्मानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जयसवालले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया