महोत्तरी । रेडबुक उपलब्ध नगराएको भन्दै महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा सोमबार तालाबन्दी गरिएको छ । सो नगरपालिकाको विभिन्न शाखाहरुमा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका हुन् ।
आइतबार सो नगरपालिकाका सबै वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुसहित ४०–४५ जनाको समूहले निमित्त प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, लेखा शाखा, प्राविधिक शाखा र वरिष्ठ इन्जिनियरसहितको कोठामा तालाबन्दी गरेको जनाइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनमा भएको कानुनबमोजिम नगरसभा भएको मितिदेखि १५ दिनभित्र रेड बुक सर्वसाधारण जनतालाई पनि देखाउने गरी सार्वजनिक गर्नुपर्ने कानुन प्रष्ट रुपमा भए पनि हालसम्म बोर्डको सदस्य समेतलाइ पटक–पटक माग गरे पनि रेड बुक उपलब्ध नगराएको, नगरसभा भएको ९ महिना बितिसक्दा पनि हालसम्म कुनै योजना सञ्चालन नगराएको, पटक–पटक मौखिकरुपमा भन्दासमेत हालसम्म बोर्डको नियमित बैठक नगराएको, डोर कर्मचारीलाई डोर हाजीर काजमा ९ महिना बितिसके पनि हालसम्म तलब–भत्ता नदिएको, नगरसभाको ९ महिना बितिसके पनि हालसम्म स्वास्थ्य चौकीको लागि औषधि खरिद नगराएको भन्दै तालाबन्दी गरिएको हो ।
त्यस्तै आर्थिक वर्ष २०८०–०८१ मा हालसम्म भुक्तानी भएको शीर्षकको प्रतिलिपी उपलब्ध नगराएको, हालसम्म किसानहरुको हकहितको लागि कुनै पनि योजनाहरु नराखेको, जलेश्वर नगरपालिकाको कार्यको सार्वजनिक सुनवाई नगराएको, नगरपालिकामा कार्यरत कर्मचारीको विवरण नदिएको, १ देखि वडा नम्बर १२ सम्मको कर तिर्ने सफ्टवेयर सांगृलाको रकम भुक्तानी नगराउदा जनताको काम दुई दिनदेखि अलपत्र गराएकोलगायत विषयलाई लिएर तालाबन्दी गरिएको हो ।
महाेत्तरी
प्रतिक्रिया