मधेसमा सबैभन्दा कमजोर कार्यसम्पादन हरिपुर्वाको

मधेस ब्यूरो । मधेस प्रदेशमा केही पालिकाले राम्रो काम गरेको छ भने केही पालिकाको कार्यसम्पादन अत्यन्तै कमजोर रहेको पाइएको छ । मधेस प्रदेशमा धेरै नकारात्मक कुराहरूको प्रचार हुँदा आठ वटै जिल्लाका केही पालिकाले कार्यसम्पादनमा राम्रो अंक ल्याएकोे छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा सप्तरी जिल्लाको सुरुङा नगरपालिकाले ६६ दशमलव शून्य २, सप्तकोशी नगरपालिकाले ५८ दशमलव ८४, कञ्चनरूप नगरपालिका ५४ दशमलव ५९ र हनुमाननगर कंकालिनी नगरपालिका ५१ दशमलव ६२ अंक प्राप्त गरेका छन् । सप्तरीको उत्कृष्ट कार्यसम्पादन देखिँदा आगामी आर्थिक वर्षमा बजेट राम्रो पाउने सम्भावना रहेको छ ।

यसैगरी राम्रो कार्यसम्पादन देखिएका सिराहा जिल्लाको गोलबजार नगरपालिकाले ५४ दशमलव शून्य ५, अर्नामा गाउँपालिकाले ४८ दशमलव शून्य ९, धागढीमाई नगरपालिकाले ४५ दशमलव ३४ र कर्जनहा नगरपालिकाले ४४ दशमलव ६७ अंक प्राप्त गरेका छन् । त्यस्तै धनुुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाले ५५, हंसपुर नगरपालिकाले ४९ दशमलव ५८, लक्षमीनिया गाउँपालिकाले ४९ दशमलव ५३ र जनकनन्दिनी गाउँपालिकाले ४७ दशमलव ५८ अंक प्राप्त गरेका छन् । प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाले प्राप्त गरेको अंक खासै सन्तोषजनक नभएको टिप्पणी गरिएको छ ।

यस्तै महोत्तरीको बर्दिबास नगरपालिकाले ५४ दशमलव ७१, जलेश्वर नगरपालिकाले ४८ दशमलव ४८, रामगोपालपुर नगरपालिकाले ४७ दशलमव ९६ र महोत्तरी गाउँपालिकाले ४७ दशमलव ९१ अंक प्राप्त गर्दा सर्लाहीको ईश्वरपुर नगरपालिकाले ६० दशमलव १६, चक्रघट्टा गाउँपालिकाले ५५ दशमलव ६४, गोडैता नगरपालिकाले ५४ दशमलव ५६ र लालबन्दी नगरपालिकाले ५३ दशमलव ७५ अंक प्राप्त गरेका छन् । मधेस प्रदेशमै सबैभन्दा कम सर्लाहीकै हरिपुर्वा नगरपालिकाले २९ दशमलव ९९ अंक प्राप्त गरेको छ । गत वर्ष प्रमुख प्रशासकीय अधिकृत नभएको र अहिले पनि गत साउनदेखि नै पालिकाप्रमुख प्रशासकीय अधिकृतविहीन भएको कारण पालिकाको कार्यसम्पादन कमजोर देखिएको नगरप्रमुख विनोदकुमार साहले बताए ।

रौतहटको गौर नगरपालिकाले ५८ दशमलव १६, मौलापुर नगरपालिकाले ५५ दशमलव ४७, परोहा नगरपालिकाले ५३ दशमलव २२ र चन्द्रपुर नगरपालिकाले ५० दशमलव २८ अंक प्राप्त गरेका छन् । मौलापुर नगरप्रमुख रिनाकुमारी साहले आफूले लगातार नगरवासीको पक्षमा काम गरिरहेकोले अझ राम्रो कार्यसम्पादनको आशा गरेको बताइन् । जिल्लामा दोस्रो आउनु पनि राम्रो भएको आफूले मानेको नगरप्रमुख साहको भनाइ छ । जिल्लामा सबैभन्दा कम बजेट पाउँदै आएको मौलापुरले आगामी आर्थिक वर्षमा यस मूल्यांकनका आधारमा राम्रो बजेट पाउने विश्वास पलाएको साहले बताइन् ।

कार्यसम्पादनमा बाराको परवानीपुर गाउँपालिकाले ६६ दशमलव ४७, कलैया उपमहानगरपालिकाले ६४ दशमलव ९३, जितपुरसिमरा उपमहानगरपालिकाले ५५ र महागढीमाई नगरपालिकाले ४८ दशमलव ९१ अंक प्राप्त गरेका छन् । बाराका अधिकांश ग्रामीण क्षेत्र कार्यसम्पादनमा निकै पछाडि परेको देखिएको छ । यसै गरी पर्सा जिल्लाको ठोरी गाउँपालिकाले ६४ दशमलव १४, वीरगन्ज महानगरपालिकाले ५७ दशमलव ४९, छिपहरमाई गाउँपालिकाले ५३ दशमलव ४४ र जगरनाथपुर गाउँपालिकाले ५० दशमलव शून्य ५ अंक पाएका छन् ।
पालिकाहरूले राम्रो कार्यसम्पादन गर्न कार्यशैलीमा धेरै सुधार गर्नुपर्ने रौतहटको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह कानुले बताएका छन् ।

प्रतिक्रिया