जनकपुरधाम । हिन्दूहरूले हर्षोत्सवको रूपमा मनाउने पर्व हो, होली । होलीको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक महत्वको सन्दर्भमा चर्चा गर्नुपर्दा वेदमा एउटा ‘होरक’ भन्ने शब्द छ । जसको तात्पर्य हो, आगोमा पोलेको अन्न । सम्भवतः त्यही शब्दबाट प्रायः मैथिलीमा ‘ओरहा’ शब्द विकसित भएको होला !
धार्मिक दृष्टिले यीद हामीले हेर्यौँ भने यस्तो बुझिन्छ कि, यो वैदिक परम्परा हो । ‘होरक’ शब्दलाई अझैँ प्रष्ट्याउनुपर्दा हामीले होलीको पूर्व सन्ध्यामा सम्मत (सम्वत्) जलाउने परम्परा रहेको छ । त्यो सम्वतमा काँचो अन्न पकाउने परम्परा छ, र त्यस आगोमा पोलेको अन्न (आधा पाकेको)लाई प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । त्यसलाई घरपरिवारमा बाँड्ने र खाने प्रचलन छ । यस दृष्टिले हेर्दा बुझिन्छ, वेदकालमा कहीँ न कहीँ यस प्रकारको परम्परा थियो ।
धार्मिक दृष्टिकोणले यसैसँग जोडिएका चार वटा कथाहरू छन् । जसमध्ये एउटा हामीले बुझ्दछौँ होलीका दहनसम्बन्धी प्रसंग, जुन कसरी ‘हिरण्यकश्यपु’ जसको शाब्दिक अर्थ हो स्वर्णशैय्यामा सुत्ने व्यक्ति र ‘प्रह्लाद’ अर्थात् आत्मिक आनन्द, आत्मिक आह्लाद । पौराणिक कथामा उल्लेख भएअनुसार प्रह्लाद विष्णुका भक्त थिए, उनका पिता हिरण्यकश्यपु असुर थिए । जसले प्रह्लादलाई मार्ने विभिन्न प्रयत्नहरू गरे तै पनि प्रह्लाद मरेनन् ।
हात्तीले कुल्चिन लगाए, भिरबाट फाल्न लगाए यसको कुनै असर प्रह्लादलाई परेन । अन्त्यमा हिरण्यकश्यपुले आगोले डढाउने विचार गरे । यसमा उनले बहिनी होलिकालाई प्रयोग गर्ने विचार गरे । होलिकालाई ब्रम्हाले वरदानमा एउटा वस्त्र दिएका थिए जुन वस्त्र ओढेर आगोमा बसे पनि होलिकालाई केही असर गर्ने थिएन । यसैको फाइदा उठाउँदै प्रह्लादलाई होलीकाको काँखमा राखेर आगोमा बस्न लगाए, आगो दन्किने बित्तिकै हावाको वेगले ब्रह्माबाट पाएको वस्त्र उडेर गयो होलीका भष्म भइन्, प्रह्लाद विष्णुभक्त भएका कारणले मरेनन् यो एउटा कथा हो ।
शिवसँग सम्बन्धित कथा पनि छ । जतिखेर पार्वती घोर तपस्या गरे पनि शिवको मनमा कुनै आकर्षण भएन । शिवले त काम, क्रोध, लोभ, मोह, मादलाई जितेका थिए । देउताहरूलाई बडो चिन्ता भयो । त्यसपछाडि देउताहरूले कामदेवलाई पठाउने निर्णय गरे, चारैतिर वसन्तको आगमन भयो, चारैतिर हरियाली छायो, नयाँ–नयाँ कोपलहरू उम्रे, चारैतिर सुरभिमय वातावरण थियो, त्यस पछि कामदेवले पञ्चवाण प्रहार गरे भनिन्छ । रूप, रस, गन्ध, स्पर्श, ध्वनीले जब महादेवलाई वेधित गरे र कामोद्वुत गर्ने चेष्टा गरे अनि शिवको नेत्र खुल्यो । त्यसपछाडि रति आउँछिन, र महादेवमा जुन कामको सञ्चार हुन्छ त्यसलाई सबैले उत्सवको रूपमा मनाउने गरेको कथा छ, जसलाई मदनोत्सव पनि भनिन्छ । त्यसैले होली मदनोत्सवको कथासँग पनि जोडिएको छ ।
तेस्रो कृष्णसँग पनि जोडिएको होलीको कथा छ । सबै राक्षसको बध पश्चात् कृष्णले यमुनाको तटमा गोपीनीसँग रास रचाए । जुन दिन कृष्णले रास रचाए त्यस दिनलाई हामी होलीको रूपमा मनाउने गर्दछौँ । चौथो प्रसंगको रूपमा मिथिलामा विवाहपश्चात् रामले सीतासँग खेलेको होलीलाई हर्षोत्सवको रूपमा मनाउने प्रचलन आज पनि छ । जसको उदाहरणका रूपमा मिथिलाका नवविवाहित युवाहरू ससुरालीमा होली मनाउन रुचाउँछन् । मिथिलामा मान्यता छ, ‘ससुरालीको होलीमा आनन्दको उत्कर्ष हुन्छ’ ।
सामाजिक रूपमा हेर्ने हो भने, गहुँ काटे पछाडि मनाउने पर्व हो यो । यसमा गहुँको पुआ, पुडीजस्ता परिकारहरू पकाउने प्रचलन छ । गहुँ अर्थात् गोधूम, गोको अर्थ इन्द्रिय र धूमको अर्थ आनन्द, इन्द्रिय–आनन्द । अर्थात् इन्द्रियको आनन्दका लागि मनाउने पर्वको रूपमा पनि लिन सकिन्छ ।
सांस्कृतिक रूपमा हेर्ने हो भने यो शौहार्द र प्रेमको उत्सव हो, पर्व हो । यस सँगसँगै यसलाई प्रतीकात्मक रूपमा पनि लिने गरएको छ । त्यसपछि मात्रै सांस्कृतिक पक्ष हामी बुभ्mन सक्दछौँ । कुनै पर्वसँग जुन सम्बन्धित कथा छ त्यो रूपकको ढंगले भन्न खोजेको हो कि, काव्यात्मक ढंगले भन्न खोजेको हो कि, प्रतीकको रूपमा कुन प्रकारको सन्देश समाजमा दिन खोजेको हो त्यो बहुत स्पष्ट छ ।
यसको सन्देश जो हिरण्यकश्यपु सर्वसत्तावादी शक्तिको प्रतीक हो, अधिनायकवादको प्रतीक हो, भौतिकतावादीको पराकाष्ठाका साकार प्रतिमूर्ति हामी भन्न सक्छौँ । त्यो हिरण्यकश्यपु विभिन्न प्रकारले प्रयत्न गर्दछ कि आध्यात्मिक मूल्यलाई, सामाजिक मूल्यलाई, पारम्परिक मूल्यलाई समाप्त गर्ने प्रयत्न गर्दछ, तै पनि पराजित हुन्छ । तात्पर्य यो छ कि जहिले पनि सर्वसत्तावादी शक्ति दमनको पराकाष्ठामा पुग्दछ त्यतिखेर नरसिंहको रूप लिने गर्दछ, जुन हामी विभिन्न आन्दोलनहरूमा हेरेका छौँ र हेर्दै पनि छौँ । कहाँ–कहाँबाट व्यक्तिहरू त्यस्ता प्रवृत्तिलाई समाप्त पार्न निस्किने गर्दछन् र त्यसपछाडि हिरण्यकश्यपुजस्ता प्रवृत्तिहरू नेस्तनाबुद हुने गर्दछ । उच्चमूल्य भन्नाले आध्यात्मिक मूल्य, मानवीय मूल्य जे भने पनि त्यो मूल्य सदा–सर्वदा बाँच्दछ । त्यो बुझाउने पर्यत्न यो होली पर्वले हामीलाई गर्दछ, यदि हामीले बुभ्mन सक्यौँ भने यस पर्वको सार्थकता छ ।
खासगरी मिथिला, मधेसमा श्रीपञ्चमीदेखि रंग अबिर खेल्ने परम्परा छ । यती मात्र होइन, श्रीपञ्चमीको रातीदेखि प्रत्येक गाउँ–टोलमा राती डम्फूमा गीत गाउने परम्परा छ, जसमा प्रायः कामोत्तेजक गीतहरू गउने गरिन्छ । हुन त आज भोलि यो परम्परा प्रायः लुप्त हुँदै गएको छ । होलीको दिन घर–परिवारका सदस्यहरू एकआपसमा रंग लगाएर रमाउने गर्दछन् भने खास गरी मिथिलामा घरबाहिर महिला पुरुष समूहमा रमाउने गर्दछन् ।
रंग पर्वको सम्बन्धमा वरिष्ठ साहित्यकार, संस्कृतिविद् डा. राजेन्द्र विमलले भने, ‘रंगको पर्व मात्र हामी कहाँ होइन, रोमन साम्राज्य जुन थियो त्यहाँ पनि ‘फेस्टा’ ‘मेट्रोनालिया’ जस्ता कतिपय पर्वहरू रोमनहरूले मनाउने गर्दथे जसमा यसै प्रकारले रंगले खेल्ने गर्दथे उनीहरू । जर्मनीमा पनि हुन्थ्यो रंग पर्व त्यहाँ पनि आनन्दकै रूपमा प्रदर्शन थियो ।’
यसलाई मनोविज्ञानका रूपमा हेर्ने हो भने यस सम्बन्धमा फ्राइडको चर्चा गर्नुपर्ने हुन्छ । फ्राइडले भनेका छन्, ‘मान्छेभित्र जुन सहज काम भावना हुन्छ त्यसको निकास पारम्परिक मूल्यको कारण वा सामाजिक मूल्यको कारण जब कहीँ हुँदैन तब कुण्ठा जन्मिन्छ, जसले मान्छेमा अनेक प्रकारको रोग हुन्छ, ।’
त्यसैले यसको निकास कुनै न कुनै प्रकारले हुनुपर्दछ होइन, भन्ने मान्छे अस्वस्थ्य हुन्छ, त्यसरी नै समाज अस्वस्थ्य हुन्छ । यसै सन्दर्भमा ‘ओशो’ को उदाहरण छ, पश्चिमी समाजमा जहाँ यति यौन कुण्ठा छैन, वर्जना छैन उनीहरू चन्द्रमाको वरिपरि घुम्ने गर्दछन् र हाम्रो समाजका युवाहरू यौनिक कुण्ठाले ग्रसित र दमित भएका कारण चन्द्रमाको पछाडि नघुमी चन्द्रमुखीको पछाडि घुम्ने गर्दछन् । तात्पर्य यो छ कि निकास चाहियो, एउटा अवसर चाहिन्छ । होली पर्व एउटा मदनोत्सव भएको हुँदा यसमा एउटा अवसर दिने गरिन्थ्यो ।’
होलीमा बडो उन्मुक्त ढंगले मनमा लागेका कुराहरू शृंगारिक तवरले गीत र जोगिराको माध्यमले अश्लील प्रसंगहरू आएको भेटिन्छ । जस्तै, ‘गोरी कहवाँ गोदओले गोदना, हो हो पियाके पलंगपर रोदना, बँहिया गोदओले जँघिया गोदओले बाँकी रहल’ … भन्ने हो भने वसन्तको महिना नै उन्मादक हुन्छ र खास गरी होलीमा रूप, रस, रंग, स्पर्श, ध्वनी पञ्चतत्वको आनन्द हुन्छ । तृप्ति भेट्द छ । पारम्परिक रूपमा हेर्ने हो भने प्रारम्भमा शृंगार थियो, अश्लीलता थिएन । कालान्तरमा यसमा विकृतिका कारण अश्लीलता प्रवेश गरेको पाइन्छ ।
होली पर्वलाई आत्मीयताको पर्व, आनन्दको पर्वको रूपमा लिने परम्परा भए तापनि आज–भोलि यसमा ह्रास आएको अनुभूति हामी सहजै गर्न सक्दछौँ । पहिला–पहिला समूह बनाएर एकअर्काको घरदैलोमा जाने चलनमा कमी आएको छ । राग–द्वेष बिर्सेर एकआपसमा मिल्ने गर्दथे भने आज–भोलि केही उच्छृंखल तत्वहरू रिस पोख्ने र प्रतिशोध लिने अवसरको रूपमा प्रयोग गर्न लागेको पनि हामी पाउँदछौँ, रंग–अबिरको ठाउँमा पेन्ट, डिजल, मोबिल प्रयोग गर्ने र अत्यधिक मात्रामा मादकपदार्थको सेवन गर्ने गरेको पाइन्छ ।
यसमा हामी सबैले विचार पु¥याउनपर्छ । यस्ता विकृतिको न्यूनीकरण आजको टड्कारो आवश्यकता हो । होलीलाई असत्यमाथि सत्यको विजयको रूपमा हर्षोल्लासका साथ ईष्र्या–द्वेष त्यागेर मौलिक रूपमा आनन्द उत्सवको रूपमा मनाऔँ ।
जनकपुर
प्रतिक्रिया