हचुवाका भरमा पर्यटकीय राजधानी

गण्डकी प्रदेशको सुन्दर नगरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारद्वारा पोखरा सहरलाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा आइतबार भव्य समारोहको आयोजना गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको हो । गण्डकी प्रदेशको प्रशासनिक तथा राजनीतिक राजधानी पोखरा अब देशकै पर्यटकीय राजधानी बनेको हो या सम्बन्धित पालिका र प्रदेशको मात्रै पर्यटकीय राजधानी बनेको हो ? भन्ने प्रश्न भने निरुत्तरित छ । किनकी संघीय सरकारको मन्त्रिपरिषद्ले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको समाचार आएको छैन ।

पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले लामो समयदेखि संघीय सरकारलाई दबाब दिँदै आएका थिए । तर, संघीय सरकारले आलटाल गरेपछि स्थानीय सरकार र प्रदेश सरकार आफँैले यो निर्णय गरेका हुन् । घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड स्वयं सहभागी रहेका कारण पोखरेलीहरू उत्साहित छन् । प्रधानमन्त्री प्रचण्डको गृह नगरसमेत हो पोखरा । आगामी आमनिर्वाचनमा पोखराबाटै उम्मेद्वार बन्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन्, त्यसैले अब छिट्टै संघीय सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने कुरामा स्थानीय जनता आशावादी छन् । जबसम्म संघीय सरकारले निर्णय गर्दैन तबसम्म स्थानीय तथा प्रदेश सरकारद्वारा मात्रै गरिएको यो निर्णयले सार्थकता पाउँदैन भन्ने कुरा पोखरेलीलाई थाहा छ ।

अनौपचारिक तथा बोलीचालीमा पोखरालाई पर्यटकीय राजधानी भनिँदै आएको धेरै पहिलेदेखि नै हो । पोखराको पर्यटनले गण्डकी प्रदेशलाई मात्रै होइन सिंगो मुलुकलाई लाभ पुर्याइरहेको कुरा विभिन्न तथ्यांकद्वारा पनि स्पष्ट हुन्छ । नेपाल घुम्न आएकामध्ये करिब ४० प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गर्छन् । यसैगरी आन्तरिक पर्यटनको हिसाब गर्ने हो भने त करिब ६० प्रतिशत हिस्सा पोखराले नै ओगट्छ । पोखरालाई केन्द्रित बनाएर विकास गर्न सकिने पर्यटकीय गन्तव्यहरूको संख्या उल्लेख्य छ । मनाङ, मुस्ताङ, उत्तरी गोरखा त पोखराबाट नजिक पर्ने नेपालका मुख्य पर्यटकीय गन्तव्य हुँदै हुन् । त्यसबाहेक पोखराबाट एक देखि तीन घण्टासम्मको ड्राइभिङमा पुगिने पर्यटकीय गन्तव्यहरू उल्लेख्य छन् । पोखरालाई मुकाम बनाएर आसपासका क्षेत्रहरू घुम्न जाने बाह्य तथा आन्तरिक पर्यटकको संख्या निकै ठूलो छ । औपचारिक रूपमै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि चहलपहल अझ बढ्ने, बजेट विनियोजन गर्दा प्राथमिकतामा राखिने, निजी लगानी बढ्ने कुरामा पोखरेलीहरू आशावादी हुनु स्वभाविकै हो ।

राजधानी भनेको राष्ट्रिय स्तरका सरकारी कार्यालय रहने स्थान हो । पर्यटनसँग सम्बन्धित राष्ट्रिय स्तरका सरकारी कार्यालयहरू पोखरामा स्थानान्तरणका लागि पहल नगर्ने हो भने पर्यटकीय राजधानी घोषणा गर्नुको औचित्य हुँदैन । जबसम्म राष्ट्रिय स्तरका सरकारी कार्यालयहरू स्थापना हुँदैनन् तबसम्म पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका केन्द्रीय कार्यालयहरू पनि स्थापना हुँदैनन् । जबसम्म पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सुचारु हुँदैनन् तबसम्म पोखरामा पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रका केन्द्रीय कार्यालयहरू स्थापना हुने संभावना रहन्न । पोखरा पर्यटकीय सहर बन्नुको मुख्य कारण सफा तालतलैयाहरू, प्रष्टसँग देखिने हिमालहरू, सांस्कृतिक सम्पदा बोकेका आसपासका गाउँहरू हुन् । तर, पछिल्लो समयमा तालतलैयाहरूको सफाइमा ध्यान दिइएको छैन । अव्यवस्थित सहरीकरणका कारण धुलो, धुँवा तथा तुवाँलो बढ्दै जाँदा हिमालहरू प्रष्ट देखिन छाडेका छन् । माछापुच्छ्रे हिमाल पहिलेको जस्तो सेताम्मे देखिन छाडेको छ । तीव्र बसाइँसराइका कारण आसपासका गाउँहरू रित्तिने क्रम बढ्दो छ ।

साविकका कतिपय पदमार्गमा गाडी गुड्ने सडक बनिसकेका छन् । पर्यटकीय सम्पदा संरक्षण र संवर्धनतिर ध्यान नदिने हो भने पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुको औचित्य रहन्न । सर्वप्रथम अव्यवस्थित सहरीकरण रोक्नुपर्छ । अव्यवस्थित सहरीकरण रोक्नका लागि गण्डकी प्रदेशको प्रशासनिक तथा राजनीतिक राजधानी पोखराबाट अन्यत्र सार्नुपर्छ । पर्यटनसँग सम्बन्धितबाहेक प्रदेश तथा संघीय स्तरका अन्य कार्यालयहरू पोखरा उपत्यकाबाट बाहिर सार्नुपर्छ । यसैगरी पोखरा आसपासका जिल्लाबाट भइरहेको तीव्र बसाइँसराइ रोक्दै अमूर्त सम्पदा बोकेका स्थानीय गाउँहरूको संरक्षण र संवर्धन गर्नुपर्छ । यति गर्न सकियो भने पोखरा नेपालकै मुख्य पर्यटकीय स्थल बन्ने बाटो खुल्छ । किनकी गण्डकी प्रदेश थातथलो भएका नेपालीहरूको जनसंख्या अन्य प्रदेश तथा विदेशमा निकै ठूलो छ । उनीहरू कम्तिमा पनि वर्षको एकपटक पोखरा घुम्न गए भने मात्रै पनि पोखराको पर्यटन व्यवसायले फड्को मार्छ ।

प्रतिक्रिया