बारा । जितपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रथम जितपुरसिमरा क्रिकेट कप शनिबारदेखि सुरु भएको छ । शनिवार एक कार्यक्रमको बीच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल ब्याटिङ र उपप्रमुख भोलाप्रसाद अधिकारिले बवलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।
६ वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । विगत केही महिनादेखि जितपुरसिमरा उपमहानगरपालिका क्रिकेटमय बनेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले खेलकुदमा २ करोड ५४ लाख लगानी गरे पनि लगानी अनुसार प्रतिफल नआएकोले अब बिद्यालय स्तरीय खेलकुदमा लगानी गरिने नगरप्रमुख पौडेलले बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र अभियान नेपालको आयोजनामा प्रथम जीतपुरसिमरा क्रिकेट कप सञ्चालन भएको छ । प्रतियोगितामा जिल्ला क्रिकेट संघ मकवानपुर, जिल्ला क्रिकेट संघ पर्सा, जिल्ला क्रिकेट संघ बारा र आयोजक टिमसहित कुल ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजना गरिएको बताए । ‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरूलाई जागृत गराउन जरुरी छ’, उनले भने ।
चैत ३ गतेदेखि सुरु भएको प्रतियोगिता चैत १० गतेसम्म औराहा स्थित सेजको मैदानमा सञ्चालन हुने छ । प्रथम जीतपुरसिमरा क्रिकेट कपको संयोजक सोमलामा बम्जनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले शुभकामना दिएका थिए ।
त्यस्तै शनिवार भएको खेलमा पर्सा क्रिकेट क्लब बिरगंजले जीतपुरसिमरा क्रिकेट क्लबलाई ८१ रनले पराजित गरेको छ । १३८ रनको लक्ष्य पाएको जीतपुरसिमरा चिकेट क्लबले १७ ओभरमा अलआउट हुदैं ५७ रन मात्र बनाउन सकेको थियो ।
प्रतिक्रिया