दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई आलोपालो सत्ताबाट निकाल्दै र राख्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् । आमनिर्वाचन लगत्तै २०७९ पुस १० गते एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १४ महिनाको यो अवधिमा तेस्रोपटक विश्वासको मत लिएका छन् । सुरुमा उनले प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पुस २६ गते विश्वासको मत लिएका थिए । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम प्रधानमन्त्री दाहालले पहिलोपटक विश्वासको मत लिएका थिए । त्यसपछि भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने परिस्थिति आफँै सिर्जना गरेका हुन् । आफूलाई प्रधानमन्त्री बनाउने दल एमालेसँगको सहमति तोड्दै प्रचण्डले राष्ट्रिपतिको निर्वाचनमा नेपाली कांग्रेसलाई साथ दिएका थिए । माओवादीले भोट नदिएका कारण राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेद्वार पराजित भएपछि एमालेले समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको थियो । यो परिस्थितिमा प्रधानमन्त्री प्रचण्डले २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिए । यसपटक प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसलाई एकाएक सरकारबाट निकालिदिए । सरकारबाट निष्कासित कांग्रेसले समर्थन फिर्ता लियो । अनि तेस्रोपटक विश्वासको मत लिनुपर्ने संवैधानिक परिस्थिति सिर्जना भयो । एउटै प्रधानमन्त्रीले १४ महिनाको अवधिमा तीनपटक विश्वासको मत लिएको नेपालको इतिहासमा पहिलो हो ।
प्रधानमन्त्रीले संसद्बाट पटकपटक विश्वासको मत लिनु भनेको नराम्रो होइन । विश्वासको मत लिने प्रक्रिया त्यति खर्चिलो पनि छैन । सरकार र संसद्को एक दिन मात्रै खर्च हुन्छ । तर पटकपटक विश्वासको मत लिने परिस्थिति उत्पन्न हुनु भनेको संस्थागत हुन बाँकी रहेको मुलकको कलिलो लोकतन्त्रका लागि राम्रो होइन । प्रधानमन्त्री प्रचण्डलाई पटकपटक विश्वासको मत लिनुपर्ने परिस्थिति अन्य पार्टीहरूले सिर्जना गरेका पनि होइनन्, उनी आफँैले यो परिस्थिति सिर्जना गरेका हुन् । कांग्रेस, एमालेलगायत केही पार्टीका नेताहरूको पदलोलुपतामा खेलेर आनन्द लिने भूत प्रधानमन्त्री प्रचण्डको दिमागमा सवार हुँदा यो परिस्थिति सिर्जना भएको हो । तर, यो खेलमा रमाएका प्रचण्डको छवी जनताको नजरमा मात्रै गिरेको छैन, हरेक पटकका विश्वासको मतको नतिजाले पनि उनी कमजोर हुँदै गएको पुष्टि हुन्छ । उदाहरणका लागि उनले पहिलोपटक विश्वासको मत लिँदा संसद्मा उपस्थित २ सय ७० मध्ये २ सय ६८ जनाको साथ पाएका थिए । उनको विपक्षमा मतहाल्ने दुई जना मात्रै थिए । दोस्रोपटक प्रधानमन्त्री प्रचण्डले १ सय ७२ जनाको साथ पाए । त्यतिबेला सदनमा २ सय ६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको विपक्षमा ८९ मत परेको थियो । यसपटक प्रचण्डले १ सय ५७ मत पाए । विपक्षमा १ सय १० मत पर्यो ।
प्रधानमन्त्री प्रचण्ड आफ्नै कारण लगातार कमजोर हुँदैछन् भन्ने कुरा उनले प्रतिनिधिसभामा हासिल गरेको विश्वासको मतले पुष्टि गरिसकेको छ । अब चौथोपटक विश्वासको मत लिनुपर्ने परिस्थिति बन्छ वा बन्दैन ? त्यतिबेला के हुन्छ ? भन्ने प्रश्नको उत्तरबारे अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन । प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालमध्ये भरखर १५ महिना बितेको छ । कांग्रेस या एमालेमध्ये एउटा दलको साथविना प्रधानमन्त्री प्रचण्डले आफ्नो पद थाम्न सक्ने अवस्था छैन । तर, यो १५ महिनाको अवधिमै प्रचण्डले कांग्रेस र एमालेलाई पटकपटक प्रयोग गर्दै मिल्काउँदै गरे । एमाले त फेरी प्रयोग हुन राजी भयो । भोलिका दिनमा कांग्रेस फेरि प्रयोग हुन राजी होला कि नहोला ? भन्ने प्रश्नलाई नजरअन्दाज गर्न मिल्दैन । किनकी प्रचण्ड अझै ढुक्क छन् । उनले बुधबार विश्वासको मत लिनुअघि विपक्षी सांसदहरूलाई प्रतिप्रश्न गर्दै भने, ‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो । आज पनि भनियो । मेरो कामना छ तपाईंहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ । तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ?’ आफ्ना विपक्षीहरूको नाडी राम्रैसँग छामेको ठम्याइमा अहिलेसम्म प्रचण्ड छन् ।
प्रतिक्रिया