‘सन्ठीले घोचेर नरिवल झर्दैन’

आफू भए ठिक नत्र मध्यावधि !

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै हालतमा सरकार परिवर्तन नहुने बताएका छन् । झापामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले कसैले चाहँदैमा कोसी सरकार नढल्ने बताएका हुन् ।
उनले एमालेलाई कटाक्ष गर्दै भने, ‘पटुवाको सन्ठीले घोचेर नरिवल झर्दैन ।’ केन्द्रको सत्ता समीकरण फेरिएलगत्तै एमालेले मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएको थियो ।

अन्य प्रदेशमा भन्दा कोसीमा संवैधानिक जटिलता भएकाले यहाँको सरकारलाई गम्भीरतापूर्वक हेरिएको छ । कार्की नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेकाले केन्द्रमा नयाँ समीकरण बने पनि कोसीमा त्यति सहज देखिँदैन ।

संघीय सरकारको समीकरण फेरबदल भए पनि कोसी प्रदेशको प्रकृति फरक रहेको मुख्यमन्त्री कार्कीको तर्क छ । कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने बताउँदै आएका छन् । यदि आफ्नो सरकार हटाउन खोजे प्रदेशसभा नै विघटन गरेर मध्यावधिमा जाने चेतावनी उनले दिइसकेका छन् ।

सरकार बन्न सक्ने अन्तिम व्यवस्थाअनुसार आफू मुख्यमन्त्री बनेकाले अब यो सरकार भंग हुने हो भने मध्यावधिमा जानैपर्ने मुख्यमन्त्री कार्कीको तर्क छ । तर, यसअघिको सर्वोच्च अदालतको फैसलामा सरकार गठनको विकल्प रहेसम्म सरकार बनाउन दिनुपर्ने उल्लेख गरेकाले कोसीमा अर्को सरकार बन्न सक्ने बाटो रहेको कानुनविद्हरू बताउँछन् ।

९३ सदस्यीय कोसी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका सभामुखसहित ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ सांसद छन् ।

नयाँ समीकरण बनेपछि केदार कार्कीको पक्षमा २९ जना र विपक्षमा ५८ जना प्रदेश सांसद देखिएका छन् । अल्पमतमा परेपछि राजीनामा दिने वा बहुमत सांसदको समर्थन जुटाएर प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, मुख्यमन्त्री कार्की राजीनामा नदिने अडानमा छन् । यदि राजीनामा दिएर बाटो खाली गर्ने हो भने अर्को सरकार गठन गर्न सकिने संविधानका जानकारहरू बताउँछन् ।

प्रतिक्रिया