काठमाडौं । पाँच दशकभन्दा लामो समय नेपाली चलचित्र क्षेत्रमा योगदान गरेका पाँच विशिष्ट कलाकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान–०८०’ बाट सम्मानित गरिएको छ । इन्टरनेसनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले बिहीबार राजधानीमा आयोजित आफ्नो प्रथम साधारणसभाको अवसरमा चलचित्रकर्मी नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई उक्त सम्मानबाट सम्मानित गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ‘चलचित्र विशेष व्यक्तित्व सम्मान–०८०’ बाट अभिनेता, निर्देशक रमेश बुढाथोकी, अभिनेत्री गौरी मल्ल र करिश्मा मानन्धर, अभिनेता रवीन्द्र खड्का र निर्माता तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रीय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ, मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष, रमेश कोइराला महासचिव, भीष्मराज फुलारा सचिव, ठण्डबहादुर अधिकारी कोषाध्यक्ष छन् । त्यसैगरी कार्यसमिति सदस्यमा राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधुर अधिकारी निर्वाचित भएका छन् ।
सीमानाभन्दा पर नेपाली चलचित्र विषयक अन्तरक्रियासमेत गरिएको कार्यक्रममा प्रमुख वक्ता नीर शाहले नेपाली चलचित्रको नीतिगत र गुणस्तरीय विकासमा चलचित्रकर्मीकै बढी कमजोरी भएकाले यसलाई सच्याउँदै लग्नुपर्नेमा जोड दिए । प्रमुख अथिति तिमिल्सिनाले नेपाली चलचित्र गैरनेपाली दर्शकसम्म पुर्याउनका लागि पहल गर्नुपर्ने धारणा राख्दै सम्बन्धित निकाय र संघसंस्थाले यसबारेमा गम्भीरताका साथ सोच्नु पर्ने जिकिर गरे । संस्थाका अध्यक्ष प्याकुरेलले आफूहरुले नेपाली चलचित्र र कलाकर्मीको बृहत्तर विकास र बिस्तारका लागि विशेष कार्ययोजनाहरु ल्याउने र चलचित्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए । उनले स्रष्टाहरुको उच्च सम्मान तथा नवप्रतिभाको पहिचान र प्रोत्साहनका लागि समेत आफूहरु कटिबद्ध रहेको बताए ।
प्रतिक्रिया