टी– २० आई सिरिज : दोस्रो खेलमा पनि नेपाल नेदरल्याण्ड्ससँग हार्यो

काठमाडौं । त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत आजको दोस्रो खेलमा पनि नेदरल्याण्ड्सले नेपाललाई २ रनले हराएको छ । जितका लागि १८५ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि नेदरल्याण्ड्सलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

यस सिरिजअन्तर्गत आज दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरीले शानदार ब्याटिङ गरे पनि नेपाल नेदरल्याण्ड्ससँग २ रनले हारेको हो । दीपेन्द्रले ६३ रन बनाए पनि नेदरल्याण्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रन मात्र बनाउन सक्यो ।

दीपेन्द्रले ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरेपछि नेपालले विजयको नजिक पुगेको थियो । दीपेन्द्र र करण केसीले सातौँ विकेटमा ५५ रनको साझेदारी गरेका थिए । नेपाललाई अन्तिम ओभरमा विजयका लागि १५ रन आवश्यक रहेको समयमा दीपेन्द्रले पहिलो दुइ बलमा १० रन बनाएका थिए ।

त्यसपछि तेस्रो बलमा दुई रन लिने प्रयासमा करण नन स्ट्राइक एन्डमा रन आउट भए । करणले ७ बलमा ११ रन बनाए । त्यसपछिको बलमा रोइल्फ भान डेर मर्वीले दीपेन्द्रलाई बोल्ड गरे । प्रतिश जिसीले पाँचौं बलमा कुनै रन बनाउन सकेनन् भने छैटौँ बलमा लेग बाईमा १ रन मात्र आएपछि नेपाल हार्यो ।

यसअघि ओपनर कुशल भुर्तेल पुनः शून्यमा आउट भए । आसिफ शेखले २३ बल खेल्दै चार चौका र एक छक्कका प्रहार गरि ३४ रन बनाए । कप्तान रोहित पौडेलले ३६ बलमा ६ चौका र दुई छक्का प्रहार गरि ५० रन बनाए । कुशल मल्ल ११, सन्दीप जोरा ८, सोमपाल कामी शून्य रनमा आउट भए ।

नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले हारेको थियो । यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चार विकेट गुमाएर १८४ रन बनाएको थियो ।

प्रतिक्रिया