दुर्घटनामा एकै गाउँका दुई युवकको मृत्यु

रौतहट । सर्लाही जिल्लामा भएको सवारी दुर्घटनामा रौतहट एकै गाउका दुई जना युवकको मृत्यु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका– ६ माधोपुरका दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माधोपुरबाट सर्लाही जिल्लाको मुशैली र कौडेनाको बिचमा मोटर साइकल स्कार्पियोमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएका माधोपुर निवासी २८ वर्षीय सियानन्द महतो र अर्का २७ वर्षीय अजय महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारको लागि वीरगञ्ज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो । अत्यधिक मदिरा सेवन गरी मोटरसाइकल चलाएको कारण्न दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एकै ठाउँका दुई युवकको मृत्युले परिवारको साथै गाउँमा शोकको वातावरण सृजना भएको छ । सवारी साधन चलाउँदा सावधानी अपनाउन नसकेको कारण दिनहुँ सड़क दुर्घटना हुने गरेकोले मदिरा सेवन गरी सवारी साधन नचलाउन प्रहरीको सुझाव रहेको छ ।

प्रतिक्रिया