बारा । बाराको निजगढमा भएको शंकास्पद विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । निजगढ नगरपालिका–७ स्थित रोहित वर्कसपमा सोमबार दिउँसो शंकास्पद शक्तिशाली बिस्फोट हुँदा वर्कसप सञ्चालक रहेका निजगढ नगरपालिका–७ का ४३ वर्षीय रेशम मगर, भारतीय नागरिक राकेश जयसवाल र पर्सा वीरगञ्ज घर भएकी २० वर्षीय रितु रजतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनामा प्रहरीले हालसम्म कवाडी सञ्चालक राज जैसवालसहित चार जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
बिस्फोट भएको उक्त वस्तु के हो भन्ने बारेमा अझै खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले ग्याँस वेल्डिङ मेसिनले शंकास्पद बस्तु काट्ने क्रममा विस्फोटन हुन पुगेको र थप अनुसन्धान कार्य जारी रहेको बताएका छन् ।
घटनामा ६ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको सोमबार नै मृत्यु भएको थियो भने एक जनाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीले बताएको छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, पर्सा वीरगञ्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवानको अवस्था सामान्य छ भने थापा उपचारपछि घर फर्किएका छन् ।
बिस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ । यो प्रोजोक्टाइल हो वा अन्य बिस्फोटक पदार्थ भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
बारा
प्रतिक्रिया