महिलाविरुद्ध हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड

सप्तरी । बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार यादवले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न नगरभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका छन् ।

उनले लैंगिक हिंसाविरुद्धको सचेतना कार्यक्रम अभियानको अवसरमा युनिक नेपाल हनुमाननगर नगरपालिका सप्तरीको आयोजनामा ‘महिला हिंसा तथा बालअधिकारसम्बन्धी सचेतना कार्यक्रममा प्रशासकीय अधिकृत यादवले सबै क्षेत्रका महिलालाई आफ्ना हक अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मुलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

‘नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था भएपनि सोहीअनुरुप कार्यान्वयन हुन सकेको छैन, अहिले पनि लैंगिक हिंसा रोकिएको छैन’, उनले भने, ‘जतिसुकै कानुनी व्यवस्था भए तापनि सचेतनाका कार्यक्रम बृहत् नगरेसम्म अवस्था यस्तै रहन्छ, सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मूलन गर्न सबैको सहकार्यमा जनचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ ।’

प्रमुख यादवले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न समाजका हुने महिला हिंसाविरुद्धका विकृति विसंगतिलाई हटाउनुपर्नेमा जोड दिए । ‘संविधान, कानुनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समाजमा दाइजो प्रथा, यौन दुव्र्यवहार, अमानवीय व्यवहारलगायत महिलामाथि हुने हिंसा अझै व्याप्त छन्, समाजमा हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाएसम्म संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न सम्भव छैन’, उनले भने ।

महिला हिंसाविरुद्धको गतिविधि उन्मुलन गर्न लैंगिक हिंसाविरुद्धको अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने र महिलालाई आर्थिक रुपान्तरणमा सबल बनाउन महिला सशक्तीकरण गर्न जरुरी भएको उनले बताए ।

बोदे बर्साईन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रेणु कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ र १० का अध्यक्ष तपसी यादव र सुनित कुमार यादव, नगरपालिकाका ईन्जिनियर दिनेश ठाकुर, सूचना अधिकारी मोहम्मद ईमामुल हक, वडा सदस्य शिव नारायण ठाकुर, युनिक नेपाल सप्तरीका संयोजक मोहम्मद ईमाउदिन अन्सारीले महिलाविरुद्धका हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिमा जटिल प्रकारका मनोसामाजिक समस्याको विकसित हुन नदिन संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिक्रिया