सिरहा । नेपाल राम समाजको पहिलो राष्ट्रिय महाधिवेशन सप्तरीमा सप्पन्न भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका– ४ स्थित शम्भुनाथमा सन्त शिरोमणि रविदास महाराजको ६४७औँ जन्म जयन्तीको अवसर पारेर संस्थाका अध्यक्ष प्रथमलाल रामको सभापतित्वमा महाधिवेशन सम्पन्न भएको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न महाअधिवेशनमा पत्रकार, बुद्धिजीवीलगायत देशभरबाट ३७ वटा जिल्लाका करिब (१२०००) १२ हजार जनाको सहभागिता रहेको थियो ।
खुल्ला र बन्दसत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट पुनः प्रथमलाल रामको नेतृत्वमा सर्वसम्मत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा शम्भु राम, महासचिवमा राधेश्याम राम, सचिवमा धिरेन राम, कोषाध्यक्षमा वेली कुमारी राम, सदस्यमा हरिदेव राम, सुजितकुमार राम, अमिरका देवि राम र धनमन्ती देवी रामसहित ९ जना रहनेगरी नयाँ कार्यसमिति चयन भए भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले छुवाछुत गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कानुनी कारवाही हर्नुपर्नेमा जोड दिए । उनले सबैलाई सम्मान गर्न सकेको भए नेपाल अहिलेसम्म विकास भइसक्ने बताए । उनले लोकतन्त्रको गोरेटोमा हिँड्न समेत जातीय छुवाछुतको अन्त्य गर्नुपर्ने धारणा राखे ।
नेपाली समाजले एकले अर्कोलाई सम्मान गर्ने परिपाटीको विकास हुनुपर्ने समेत बताए । उपप्रधानमन्त्री श्रेष्ठले दलितका लागि दलितले नै आवाज उठाउनुपर्ने, जनजातीका लागि जनजातीले मात्र आवाज उठाउने परिपाटीको अन्त्य गरी आपसी सहकार्यमा अघि बढ्नुपर्ने बताए ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय माहन्थी रामको श्रीमतीलाई सम्मान समेत गरिएको छ । संस्थाका सचिव राधेश्याम रामको सहजीकरणमा भएको कार्यक्रमलाई समापन गर्दै सभापति रामले आफ्नो कार्यक्रम अवधीभर साथ सपोर्ट तथा महाअधिवेशनलाई सफल तुल्याउन निमन्त्रणालाई स्वीकारेर कार्यक्रममा पाल्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गरे ।
‘शिक्षित बनौँ, संगठित रहौँ, संघर्ष गरौँ’ भन्ने मूल नाराका साथ प्राध्यापक स्वर्गीय महन्थी रामले विं.स. २०५३ सालमा नेपाल राम समाज कल्याण संघको स्थापना गरेका थिए । उक्त संस्थालाई पछि नाम संशोधन गरी नेपाल राम समाज बनाइएको थियो ।
प्रतिक्रिया