रौतहट । शिक्षा र स्वास्थ्यलाई तीनै तहको सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्ने आमजनता पार्टीका अध्यक्ष एवं रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले बताएका छन् । रौतहटको मौलापुर नगरपालिकाद्धारा श्री लक्ष्मीनिया माध्यमिक विद्यालयमा गरेको ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रममा’ उनले यस्तो बताएका हुन् ।
सो अवसरमा उनले भने, ‘विकास र समृद्धितर्फ मुलुक अघि बढेको छ र मेरो निर्वाचन क्षेत्र पनि विकासको मूलधारमा समाहित भएको छ ।’ सांसद साहले, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत एवं अत्यावश्यक सेवा सुविधालाई तीनै तहको सरकारले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा उनले राष्ट्रिय कलाकार झैँ छात्रछात्राले आफ्नो प्रस्तुति गरेको भन्दै सराहना गरेका थिए । उक्त प्रस्तुति यस नगरपालिकाका लागि गौरवको विषय भएको अनुभूति आफूले गरेको उनले बताए । यहाँका हरेक बालबालिकालाई साक्षरता बनाउन सांसद साहको आग्रह थियो ।
शिक्षा आर्जन नै सबैभन्दा ठूलो सम्पत्ति रहेको चर्चा गर्दै छोराछोरी दुवैलाई समान व्यवहार गरी विद्यालय पठाउन उनले आग्रह गरे । साथै मौलापुर नगरपालिकालाई साक्षर बनाउने संकल्पसहित आयोजना गर्दै आएको यस्ता रचनात्मक एवं दुर्गामी महत्वका कार्यक्रमले मानव विकास सूचकांकमा पछाडि रहेको रौतहटलाई माथि उकास्न विशेष सकरात्मक परिणाम एवं प्रेरणा प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे ।
त्यस क्रममा विभिन्न नाटक, गीत संगीतको प्रस्तुति गरिएको थियो । सो अवसरमा विद्यालयको प्रांगणमा विभिन्न जातजातिका बोट बिरुवा रोपिएको थियो । उक्त कार्यक्रममा मौलापुरका नगरप्रमुख रिनाकुमारी साह, आजपा महासचिव त्रिभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुश्वाहा, स्थायी कमिटीका सदस्य विजय यादव, आममहिला मोर्चाका केन्द्रीय अध्यक्ष कुमारी बबिता लगायतको सहभागिता रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया