रौतहट । प्रत्येक वर्ष झैँ यस वर्ष पनि रौतहटमा देशकै सबैभन्दा ठूलो काठको फर्निचर मेला बुधबारदेखि सुरु भएको छ । श्रीपञ्चमीको अवसरमा नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा जिल्लाको मध्यभाग जयनगरमा फर्निचर मेला लागेको हो ।
गरुडा नगरपालिका–१ जयनगरमा प्रत्येक वर्ष श्रीपञ्चमीदेखि सुरु भई झण्डै दुई महिनासम्म लाग्दै आएको फर्निचर मेला यस वर्ष पनि लागेको छ । रौतहटको ग्रामीण क्षेत्र जयनगरमा लागेको फर्निचर मेला सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेला हो । मेलामा घरायसी प्रयोजनका साथै कृषिसँग सम्बन्धित विभिन्न फर्निचर र फलामका, सामग्री बिक्रीका लागि राखिएको छ । मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सालगायत जिल्लाका फर्निचर व्यवसायीले फर्निचर र फलामका सामग्री बिक्रीका लागि ल्याएका छन् ।
पलङ, डाइनिङ सेट, कुर्सी, खाट, चारपाइ, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करिब सबै काठका फर्निचर सामग्री मेलामा ल्याइएको छ भने फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरी लगायतका सामग्री पनि बिक्रीका लागि राखिएको छ । मेलामा फर्निचर आउने क्रम अझै जारी नै रहेको छ ।
मेलामा देशको विभन्न ठाउँका साथै भारत विहारबाट पनि आएर कतिपयले घरायसी प्रयोजनका लागि फर्निचर किनिरहेका छन्, भने कतिपयले खरिद बिक्रीका लागि पनि फर्निचरका सामग्रीहरू किन्ने गरेका छन् । हरेक वर्ष फर्निचर मेलामा व्यापार बढ्दै जाँदा फर्निचर व्यवसायी पनि उत्साहित हँुदै गएका छन् । दुई सयभन्दा बढी व्यवसायीले हरेक वर्ष मेलामा फर्निचर ल्याउने गरेका छन् । मेलामा फर्निचरसस्तो पाउने गरेका कारण हरेक वर्ष व्यापार बढ्दै गएको छ ।
अन्य ठाउँमा सामान किनेको भन्दा जयनगर फर्निचर मेलामा २५ प्रतिशतभन्दा बढी सस्तो हुने गरेको छ । आफ्नै काठ र आफैँले फर्निचर बनाउने हुनाले तुलनात्मकरूपमा फर्निचर सस्तो हुने गरेको व्यवसायीहरू बताउँछन् । मेलाबाट देशका विभिन्न भागका साथै भारततर्फ पनि फर्निचर लैजाने गरिएको छ । मुख्य गरी बिहेमा दाइजो दिनेहरूका लागि फर्निचर मेला पहिलो रोजाइ हुने गरेको छ भने सस्तो रोज्नेहरूले पनि मेलाबाटै फर्निचर लैजाने गरेका छन् ।
फर्निचर मेलामा काठबाट बनाइएको सामग्री बिक्रीका लागि राखिएको हुँदा सबै फर्निचरको लागि अन्यत्र जानु नपरेको धरहरीका अशोक साहले बताए । मेलाले गर्दा फर्निचरका सम्पूर्ण समानहरू एकै ठाउँमा भेटिरहेको र त्यो पनि सस्तो परिरहेकाले आफूलाई यस मेलामा सामग्री किन्दा खुसी लागेको शिवनगरका राजु मिश्राले बताए । यस मेलामा बिक्री गर्नका लागि विश्वकर्मा लोहार जातिले दुई÷तीन महिना अघिदेखि नै फर्निचरका सामग्रीहरू बनाउने गरेका छन् ।
अहोरात खटेर लोहार जातिले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । हरेक वर्ष मेलाको विस्तार भइरहेकाले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको समितिको भनाइ छ । मेलाबाट नेपालको रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको मेला समितिले जनाएको छ ।
मेलामा यस वर्ष पाँच करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको छ । समितिका अनुसार गत वर्ष चार करोडको कारोबार भएकोमा गत वर्षको तुलनामा यस वर्ष फर्निचर व्यावसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने देखिएकोले पाँच करोडसम्मको कारोबार हुने अनुमान गरिएको छ ।
२०६५ सालदेखि नै प्रत्येक वर्ष लाग्दै आइरहेको मेला प्रत्येक वर्ष विस्तार हुँदै गएकोले कारोबार पनि बढ्दै गएको समितिले जनाएको छ । यातायातको सुविधा भएको र फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ लिइरहेको समितिको दाबी छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया