दैलेख, ४ फागुन । नेपाल पत्रकार महासंघ दैलेखले पत्रकार आचारसंहिता विपरीत क्रियाकलाप गरेको आरोपमा पत्रकार भूपेन्द्र शाहीको सदस्यता खारेज गर्न सिफारिस गरेको छ ।
पत्रकार शाहीले निरन्तर महासंघको विधान र पत्रकार आचारसंहिता विपरीत क्रियाकलाप गर्दै आएकाले सदस्यता खारेज गर्न केन्द्रीय समितिसमक्ष सिफारिस गरेको हो । एफएमका व्यवस्थापन संयोजकसमेत रहेका शाहीले पञ्चकोसी एफएमका स्टेसन मेनेजर पृथ बयलकोटीसहित सात पत्रकारलाई राति एफएमबाट निकालेर विस्थापित बनाएको, ज्यान लिने धम्की दिएको, जातीय अपमान गर्नुका साथै महासंघको विधि विधानलाई चुनौती दिने गरेकाले सदस्यता खारेज गर्न सिफारिस गरेको महासंघले जनाएको छ ।
शाखाले उपाध्यक्ष चक्र केसीको संयोजकत्वमा प्रकाश अधिकारी र नविन रिजाल सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । शाहीसँगै एक साताभित्र मार्ने धम्की दिने अर्का पत्रकार वसन्त श्रेष्ठलाई पाँच वर्षसम्म साधारण सदस्यता प्रदान नगर्न सिफारिस गरेको छ ।
प्रतिक्रिया