चुलाचुली गाउँपालिकाले दियो ४९० विद्यार्थीलाई न्यानो कपडा

इलाम । इलामको चुलाचुली गाउँपालिकाले विकट र दुर्गम क्षेत्रमा पर्ने सामुदायिक विद्यालयका चार सय ९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गाउँपालिका भित्रका विकट र दुर्गम क्षेत्रमा पर्ने तीनवटा विद्यालयका चार सय ९० विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) वितरण गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।

चुलाचुली गाउँपालिका–१ को सागर आधारभूत विद्यालय, वडा नं. ३ को सूर्योदय आधारभूत विद्यालय र वडा नं. ४ को किरात चोलुङ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष केरुङले बताए । वडा नं. ६ को ८ वटा आधारभूत विद्यालयमा समेत न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

‘चिसोका कारण विभिन्न रोग लाग्न सक्ने र न्यानो कपडा नभएकै कारण विद्यालयमा नियमित उपस्थित नहुने विद्यार्थीलाई नियमित विद्यालय उपस्थित हुन हौसला प्रदान गर्न गाउँपालिकाले लोगो अकिंत ट्¥याकसुट वितरण गर्न थालेको हो’ अध्यक्ष केरुङले भने, ‘पहिलो चरणमा १, ३ र ४ नं. वडाका तीन वटा विद्यालयमा गएर वितरण गरेका छौं । अब ६ नं. वडाका आठ विद्यालयमा समेत यसैवर्ष न्यानो कपडा वितरण गर्नेछौं । अन्य विद्यालयमा आउँदो वर्ष क्रमश वितरण गरिनेछ ।’

विद्यार्थीहरुलाई स्थानीय सरकार रहेको अनुभूति गराउन न्यानो कपडा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । न्यानो कपडा पाएपछि विद्यार्थीहरु नियमित विद्यालय उपस्थित हुने विश्वास गाउँपालिकाको छ ।

चुलाचुली गाउँपालिकामा १३ वटा आधारभूत, आठ वटा माध्यमिक, दुई वटा सामुदायिक सिकाई केन्द्र र १६ वटा बाल विकास केन्द्रमा पाँच हजार छ जना विद्यार्थी रहेको शिक्षा शाखा प्रमुख राम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया