सहिद डाचाराज वाग्लेको तेस्रो स्मृति दिवस मनाइयो

लालबन्दी । सर्लाहीको बगमतीमा एक कार्यक्रमका बीच सहिद डाचाराज वाग्लेको तेस्रो स्मृति दिवस मनाइएको छ । बागमती नगरपालिका–४ स्थित पालिकाको सभाहलमा औपचारिक कार्यक्रम गरी दिवस मनाइएको हो । दिवसको अवसरमा सहिद वाग्लेको तस्बिरमा अबिर तथा फूलमालासहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लुमणि धिमालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा गरिएको हो ।

नेकपा माओवादी केन्द्र बागमती नगर कमिटीको आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभाका वक्ताहरूले सहिद वाग्लेको योगदानको चर्चा गरेका थिए । उनले चालेका कदम अनुसार समाज रूपान्तरणका लागि पहल गरे मात्र सहिद वाग्लेप्रति सच्चा श्रद्धाञ्जली हुने कार्यक्रमका प्रमुख अतिथि धिमालको तर्क थियो । जीवनको अन्तिम घडीसम्म समाजको हितका निमित्त लागिपरेका सहिद वाग्ले पार्टीका सच्चा योद्धा रहेको उनले बताए ।

नेकपा माओवादी केन्द्र बागमती नगर कमिटी अध्यक्ष चित्रबहादुर तुम्सिङको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्र प्रदेश सचेतक जवाहरलाल कुशवाहको विशिष्ठ आतिथ्यता रहेको थियो ।
सहिद वाग्लेको रहस्यमयी दुर्घटनाको विषयमा थप अनुसन्धान हुनुपर्नेसमेत वक्ताहरूले माग गरेका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहेका स्वर्गीय नेता वाग्लेको रहस्यमयी सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । तत्कालीन प्रतिगमन विरुद्धको आन्दोलनमा रहेका उनी बरहथवा बजारमा भएको राँके जुलुस सकेर उत्तरतर्फ आउँदै गर्दा वाग्ले सवार मोटरसाइकल नयाँरोड–बरहथवा सडक खण्डअन्तर्गत मुर्तिया जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया