कटन क्याण्डी (हवाई मिठाई) प्रतिबन्ध

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अखाद्य वस्तुको रुपमा रहेको कटन क्याण्डी (हवाई मिठाई) जफत गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । सरकारले स्वास्थयका लागि हानीकारक रहेको ठहर गर्दै कटन क्याण्डी विक्री वितरणमा रोक लगाएपछि कार्यालयले विहिबारदेखि जनकपुरधाममा जफत गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।

कार्यालयका खाद्य निरिक्षक प्रवीण तिवारीको अगुवाइमा जनकपुरधामको भ्रमरपुराचौक स्थित उत्पादन गर्दै आएको अखाद्य वस्तु हवाई मिठाई जफत गरी नष्ट गरेका छन् । तयारी अवस्थामा राखिएको साढे चार सय थान कट्न क्याण्डी र बनाउनमा प्रयोग गरिएको रंगसहित जफत गरी नष्ट गरिएको हो ।
विहिबारनै कार्यालयले हवाई मिठाई बेचिरहेको अवस्थामा जानकी मन्दिरबाट साढे चारसय जफत गरी नष्ट गरिएको तिवारीले बताए । उत्पादन गर्दै आएका उद्योगका सञ्चालक प्रभुप्रसाद पटेललाई क्याण्डी बेच्नबाट रोक लगाउदै विक्री वितरणका लागि अनुज्ञापत्र लिई लेबल विवरण पुर्णरुपमा खुलाई विक्री वितरण गर्न निर्देशन दिइएको खाद्य निरिक्षक प्रमोद बुढाथोकीले बताए ।

बालबालिकाले मन पराउने उक्त मिठाइमा रोडा माइन विको नामको अखाद्य रंग प्रयोग हुँदै आएको र सो स्वास्थ्यका लागि निकै हानिकारक रहेकोले सरकारले माघ ८ गतेदेखि सूचना जारी गरी विक्री वितरणमा रोक लगाउन निर्देशन दिएको खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख हस्तबहादुर राइले बताए । उनले विना इजाजतको सामान बेचिएको पाइए या निर्देशन अटेर गरेको भेटिए कडा भन्दा कडा कारवाही गरिने बताए ।

यता कृषि तथा पशुपन्छी विकास कार्यालयले जारी गरेको सूचनामा विभिन्न स्थानमा सडकपेटी, बजार, मेला लगायतमा विक्री वितरण भइरहेको रंगिन कट्न क्याण्डीमा मानव स्वास्थ्यमा असर पु¥याउने अखाद्य रंग रोडा माइन विको प्रयोग भएकोले विभागबाट अनुज्ञापत्र पत्र लिइ लेवल लगाइएका बाहेकका कटन क्याण्डी उपभोग नर्गन अनुरोध गरेको छ । साथै विक्री वितरण नगर्न नगराउन र कानुनको बर्खिलाप गए कडा कारवाही हुने सूचनामा भनिएको छ ।

कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने चिकित्सकको भनाई छ । उनका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।

प्रतिक्रिया