छोटी भन्सार सुचारु नहुँदा करोडौँको नोक्सानी

पर्सा । वीरगञ्ज भन्सार मातहतमा ११ छोटी भन्सार रहेको छ । जसमध्ये अधिकांश नामले मात्र छोटी भन्सार रहेको छ । बारामा मात्रै पाँच वटा छोटी भन्सार छन् । जसमा कचोरवा, सिम्रौनगढ, कवही, पिपरपाती र मटिअर्वा गरी पाँच छोटी भन्सार छन् ।

ती मध्ये पुरानो छोटी भन्सार सिम्रौनगढ हो । सिम्रौनगढमा रहेको सिम्रौनगढ छोटी भन्सार, पञ्चायत कालमा खोलिएको र भारतीय नाकासँग सीमा जोडिएको सिम्रौनगढमा माओवादी द्वन्द्व ताका ०५९ सालमा सुरक्षाको कारण देखाउँदै बन्द भयो र पुन पहलपछि सुचारु भयो । फेरी कोरोनाको कारण देखाउँदै बन्द भयो । गत माघमा स्थानिय व्यापारीहरूले आन्दोलन र दबाव दिएको कारणले यस सिम्रौनगढ छोटी भन्सार कार्यालय पुन सुचारु आएको थियो । छोटी भन्सार कार्यलयमा दुई जना कर्मचारी आएका थिए । तर सुचारु भएको ६ महिना पनि नबित्दै पुनः बन्द भएकोे छ ।

सिम्रौनगढ छोटी भन्सार कार्यालयसँगै घर भएका स्थानीय मुस्तकिन अन्सारीले सो भन्सार कार्यलयमा विगत दुई महिनादेखि कर्मचारी नआएको बताए । सीमा क्षेत्रमा तस्करी नियन्त्रण र सीमा सुरक्षाका लागि सयौँको संख्यामा सुरक्षाकर्मी खटिए पनि स्थानीय प्रहरी, प्रशासनकै सामुन्ने खुलेआम तस्करी भइरहेको र र भन्सार कार्यालयको कुनै औचित्व नरहेको स्थानीय सिकिन्द्र शाहले बताए ।
यसै नगरपालिकाबाट मुख्यमन्त्री सरोज यादवसमेत पाएको र यसै मौकामा यस भन्सार कार्यालय छिट्टै मूल भन्सार कार्यको रूपमा स्थापित होस् भन्ने चाहन्छन् । यदि सो नभएमा पुनः बजारसमेत बन्द गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

छोटी भन्सारबाट १० हजार सम्मको घरायसी प्रयोजनका सामान ल्याउन सक्ने व्यवस्था छ । तर, व्यावसायिक प्रयोजनका लाखौँ रुपैयाँका सामान भन्सार छली गरेर यी नाकाहरूबाट सिम्रौनगढ, तामागढी सडक खण्ड हुँदै निजगढसम्म पुग्ने गर्दछ । छोटी भन्सार कार्यालय सञ्चालन नहँुदा राज्यलाई करबाट आउने करोडौँ करको रकम नोक्सान हुने गरेको छ । स्थानीय तस्करले दिउँसै सीमा नाका छलेर विभिन्न खाद्य तथा अन्य सामग्री तस्कर गर्छन् ।

सिम्रौनगढ बजार र रानिवास बजार भारतीय सिमानासँग जोडिएको बजार हो । यो क्षेत्र व्यापार व्यवसायका लागि उपयुक्त भए पनि भन्सार कार्यालय नभएकोले व्यवसाय गर्न समस्या भएको व्यापारी बताउँछन् । बन्दै गरेको काठमाडौं–निजगढ फास्ट ट्रयाक जिरो किलोमिटर सिम्रौनगढ नाकाबाट करिब ४४ किमी मात्रै रहेको र आगामी दिनका लागि भए पनि पूर्णरूपमा यो नाका सुचारू हुनुपर्ने स्थानीय व्यापारीको माग छ ।

प्रतिक्रिया