बारा । मधेस प्रदेशको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकको अवस्था दयनीय रहेको भन्दै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले चिन्ता व्यक्त गरेका छन् ।
संघीयता आएपछि विकासको मामिलामा मधेस प्रदेश फड्को मारिरहे पनि हुलाकी सडकको अवस्था जस्ताको त्यस्तै रहेको भन्दै उनले हुलाकी सडकको विकासमा संघीय सरकारले जोड दिनुपर्ने आँैल्याए ।
बाराको करैयामाई गाउपालिका–८ स्थित इटहर–बेलाही गाउँ जोडने तियर नदीमा बनेको नवनिर्मित पक्की पुलको उद्घाटन गर्दै बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले यस्तो चिन्ता जाहेर गरेका हुन् ।
क्रमिक रूपमा सडक तथा पुलपुलेसाको विकास हुनु मधेस प्रदेशका जनताको लागि सुखद् कुरा भएको उनले बताए ।
पूर्वाधार विकासको मामिलामा मधेस प्रदेश विस्तारै अगाडि बढे पनि यहाँको जनता अहिले पनि गरिबी र भोकमरीको कहरबाट जुधिरहेको उनले बताए ।
‘मधेस प्रदेशका बालबालिकाले अहिले पनि गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन्’, उनले भने, ‘गुणस्तरीय शिक्षाको लागि संघ सरकार र स्थानीय सरकारले उचित कदम चालेको देखिँदैन ।’ मधेसमा बढ्दो क्रममा रहेको अशिक्षालाई कम गर्न सबैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
सोही कार्यक्रलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २०१७ सालमा भएको विकासलाई ठूला दलले खाइपकाई गरी समाप्त पारेको आरोप लगाए ।
मधेस प्रदेशसहित देशैभरी रहेका ठूला सरकारी उद्योग तथा कलकारखानालाई बन्दको कागारमा पुर्याउने ठूला दलका नेताहरूले अहिले पनि मधेस प्रदेशलाई विकासमा पछाडि पार्ने षड्यन्त्र गरिरहेको बताए ।
मधेस प्रदेश सरकारको बजेटमा दर्जनौँ पुल बने पनि संघीय सरकारले मधेसमा विकास नगरेको आरोप उनले लगाए ।
प्रतिक्रिया