पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्वस्थ्य समृद्ध र नमुना बिन्दवासिनी गाउँपालिका हाम्रो अभियान, पूर्ण खोप सुरक्षित भविष्य, हाम्रो स्वाभिमान’ भन्न मूल नाराका साथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हाे । पर्साको १४ स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता पालिका हुनेमा बिन्दबासिनी १२औं बनेको छ । जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेर मंगलबार बिन्दबासिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
पालिकाका अनुसार जन्मदेखि १५ महिना सम्मका ७१४, जन्मेदेखि एक महिनाका ६०५, १२ देखि २३ महिनाका ६०३ र १६ महीना देखि पाँच वर्षका १८५८ जनालाई खोप दिनुपर्नेमा ४९ जनाले ड्रपआउट गरेको र तीनजनाले खोप नलगाएको पाइएको थियो । छुटेकाहरूलाई घरघरमै पुगेर स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको पालिकाले जनाएको छ।
जिल्ला समन्जय समिति पर्साका सभापति सर्राफले बिन्दबासिनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै अध्यक्ष प्रमोद तिवारी र उपाध्यक्ष ज्योती चौरसियालाई प्रमाणपत्र प्रदान गरे ।
प्रमुख जिल्ला अधिकारी दिवेश सागर भुसालले पूर्ण खोप सुनिश्चितता गरेर बिन्दबासिनी गाउँपालिका एक कदम अगाडि बढेको बताए। बिन्दबासिनीको विकासका लागि सधैँ सहयोग गर्ने उनको भनाइ छ ।
डिजिटलाइज गरेर नयाँ जन्मिने बालबालिकाहरूको अभिलेख राख्नुपर्ने सुझाव प्रमुख जिल्ला अधिकारी भुसालले दिएका छन् । अध्यक्ष तिवारीले सबैको साथ र सहयोगले नै बिन्दबासिनीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिएको बताए ।
कार्यक्रममा उपाध्यक्ष चौरसिया, जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरण कुर्मी, प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, स्वास्थ्य कार्यालय प्रमुख डा. मुक्ति नारायण शाह, जनस्वाथ्य अधिकृत जयमोद ठाकुरलगायतले बिन्दबासिनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेकोमा सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंमसेबिका लगायतलाई झाेला, छाता र प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोप सुनिश्चितता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।
पर्सा
प्रतिक्रिया