बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म १० करोड ७८ लाख राजस्व संकलन गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको पुस मसान्तसम्मको तथ्यांकमा १० करोड ७८ लाख ५६ हजार ६१ रुपैयाँ राजस्व संकलन गरेको राजस्व शाखा प्रमुख रमेश सुवेदीले बताए ।
आर्थिक वर्ष २०८०÷०८१ को पुस मसान्तसम्म मात्रै जीतपुरसिमरा उपमहानगरले चार करोडभन्दा बढी राजस्व संकलन गरेको शाखा प्रमुख सुवेदीले बताए । पुस मसान्तको अन्तिम दिन मात्रै नगरमा तीन करोड राजस्व संकलन भएको छ । उपमहानगरमा सबैभन्दा बढी सम्पत्ती कर संकलन भएको छ । त्यसैगरी मसान्तसम्मको तथ्यांकमा उपमहानगरमा करिव ६८ लाख भूमि तथा मालपोत कर संकलन भएको छ भने नक्सा पास दस्तुर २६ लाखभन्दा बढी संकलन गरेको छ ।
यता नगरको स्वामित्वमा रहेको व्यावसायिक सटरमा उठ्न बाँकी रहेको बहाल करमा समेत उलेख्य वृद्धी भएको छ । मसान्तसम्म जग्गा तथा घरबहाल करमा ४२ लाख ७० हजार राजस्व संकलन भएको छ । यो आर्थिक वर्षमा करिब १५ करोडको आन्तरिक आयको लक्ष्य राखेको उपमहानगरले पुस मसान्तभित्रै करिब ११ करोड राजस्व संकलन गर्न सफल भएसँगै लक्ष्यभन्दा बढी राजस्व संकलन हुने उपमहानगरको अनुमान छ । जीतपुरसिमरा उपमहानगरलाई सबैभन्दा बढी कर जगदम्बा स्टिल कम्पनीले तिरेको छ । कम्पनीले मसान्तमा १ करोड ८३ लाख सम्पत्ती कर बुझाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वित्तीय अधिकार क्षेत्र भित्रका बक्यौता तिर्न बाँकी सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर र बहाल बिटौली शुल्क पुसमसान्तसम्म तिर्न उपमहानगरबासीसँग आग्रह गरेको थियो । पुस मसान्तसम्म कर नतिरेको पाएपछि १० प्रतिशत जरिवाना लाग्ने सूचना जारी गरेपछि जरिवानाबाट बच्नका लागि नै एक महिनामा झन्डै चार करोड राजस्व संकलन भएको राजस्व शाखा प्रमुख रमेश सुवेदीले बताए । जीतपुरसिमरा उपमहानगरभित्र करिब सयौँ उद्योग छ जसले जीतपुरसिमरा उपमहानगरपालिकाको राजस्वमा उल्लेख्य वृद्धी हुने गरेको छ । अहिले पनि उपमहानगरभित्र रहेका कतिपय उद्योगले उपमहानगरलाई कर तिर्न बाँकी रहेको राजस्व शाखाप्रमुख सुवेदीले बताए ।
बारा
प्रतिक्रिया