वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रालिले बिरामीलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना सार्वजनिक भएकोे छ । घटना गत पुस २३ गते सोमबारको हो । वीरगञ्ज महानगरपालिका–१७ की एक महिला बन्ध्याकरण गराउन मेरी सर्भिस सेन्टरमा पुगेकी थिइन् । बन्ध्याकरण गराउन पुगेकी सो महिलासँग एउटा कागजमा दायाँ बाँया लेप्चे लगाई भर्ना गरियो । भर्ना भएको केही समयमै अपरेसन थिएटरमा लगि डा. रामनरेश यादवले बन्ध्याकरण (मिनी ल्याब) गरेको परिवारले बताए ।
बन्ध्याकरण पश्चात बेलुकी बिरामीलाई घर पठाउनका लागि डिस्चार्जसमेत गरियो । डिस्चार्ज गरी श्रीमतीलाइ घर लान सो क्लिनिकमा पुग्दा एक व्यक्तिले तपाईंको श्रीमतीको बन्ध्याकरण पूर्ण रूपमा सफल भएन भन्दा उनी आश्चर्यमा परे ।
सो विषयमा अस्पताल प्रशासनसँग बिरामीका श्रीमानले सोध्दा सबै ठिक छ, त्यस्तो केही छैन भन्दै प्रष्ट बनाएनन् । उनलाई श्रीमतीको स्वास्थ्य बारेमा शंका लागेर बुझ्दा बन्ध्याकरण गर्ने क्रममा दुई वटा फ्लोपेन ट्युब (नसा) मध्ये एउटा मात्र नसा बन्द गरिएको र अर्को नसा खुल्लै छोडेको पाइयो । यसमा बन्ध्याकरण गर्ने डा.यादवको चरम लापरवाही देखियो ।
घटना भए पश्चात पीडितका श्रीमानले मेरी सर्भिस सेन्टरका प्रशासन हेर्ने (बाउन्सरको रूपमा कार्यरत) संदिप चौरसियासँग बुझ्दा कुनै बिरामीको केस बिग्रेमा हामीले बिरामीबाट असुलेको रकम फिर्ता गर्छौं भन्दै पीडितका श्रीमानलाई फकाउने प्रयास गरी केस झिसमिस पर्ने प्रयास गरे । पीडित महिलाका पतिले अस्पतालको लापरवाही बिरुद्ध आफू कानुनी उपचारमा जाने चेतावनी दिएपछि चौरसियाले अभद्र व्यवहार गर्नुका साथै हातपात गर्ने प्रयाससमेत गरेको पीडितले बताए ।
यी महिला त एक प्रतिनिधि पात्र मात्र हुन् । उक्त क्लिनिकमा त्यस्तो कैयौँ घटना घटेको स्वयं अस्पतालका चिकित्सक यादवले स्वीकार गरेका छन् । क्लिनिकले एउटै बिरामीसँग बन्ध्याकरणमा दुईपटकसम्म रकम असुल्नैका लागि यस्तो गर्ने गरेको स्रोतले बतायो । रकमकै लागि बिरामीको जिउ ज्यानसँग खेलवाड गर्ने यस्ता क्लिनिक र डाक्टरमाथि बिरामीका पतिले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखामा उजुरी दिँदै कारबाहीका लागि माग गरेका छन् ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा वीरगञ्ज मेरी स्टोप्स हेल्थ केयर नामले दर्ता गरिएको छ । स्वास्थ्य निर्देशनालय सपही, धनुषाबाट लालबन्दी–१ सर्लाही बस्ने संगीता कुमारीको नाममा दर्ता गराई १० हप्तासम्मको गर्भपतन सेवा गर्न मात्र अनुमति लिएको मेरी सर्भिस सेन्टरको कार्यालयमा झुन्डयाइएको प्रमाणपत्रमा उल्लेख छ । अनुमति लिएकी व्यक्ति वीरगञ्ज बाहिर कार्यरत रहेको र उनको प्रमाणपत्र मात्र राखी सेवाग्राहीहरूलाई झुक्याई मेरी सर्भिस सेन्टरले बिरामीको स्वास्थ्यसँग खेलवाड गर्दै रकम असुल्ने गरेको बताइन्छ ।
यस सम्बन्धमा डाक्टर रामनरेश यादवसँग बुझ्दा बिरामीको कुरुवालाई परामर्श दिने व्यक्तिले जानकारी नदिएको र आफूले दिनमा ८०÷८५ वटासम्म मिनी ल्याब गर्ने गरेकाले कहिलेकाहीँ गल्ती हुने गरेको स्वीकार गरे । पछिल्लो घटनामा पनि आफूबाट गल्ती भएको उनले स्वीकार गरे । मानव जीवनसँग खेलवाड गर्ने डाक्टर र स्वास्थ्य संस्थामाथि नियमनकारी निकायसँग कडाभन्दा कडा कानुनी कारवाहीको पीडितले माग गरेका छन् । मेरी सर्भिस सेन्टर नजिकै परिवार नियोजनको लागि भरपर्दो मेरी स्टोप्स क्लिनिक रहेकोमा सेवाग्रहीहरू मेरी स्टोप्समा नगई झुकिएर मेरी सर्भिसमा जाने गर्छन् । ठगी धन्दा चलाएका मेरी सर्भिसले जानाजान मेरी स्टोप्सनिर नै आफ्ना क्लिनिक सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया