पाँचथर । जिल्लाको फिदिम नगरपालिका– २ कार्यालयमा किसोर किशोरीहरुलाई उद्घोषण र प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा पावर पोष्ट मिडिया प्रालिको आयोजनामा तालिम सम्पन्न भएको हो ।
पुस २६ देखि २९ गतेसम्म सञ्चालित चार दिने तालिममा वडाका ३२ जना किशोर–किशोरी सहभागी भएका थिए । उक्त तालिममा वडाका १२ पुरुष र २० जना महिला तालिमबाट लाभान्वित भएका छन् । वडा कार्यालयको चालु आर्थिक वर्षको संस्थागत विकास तथा सेवा प्रवाह शीर्षकअन्तर्गत विनियोजन भएको बजेटबाट युवा लक्षित कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार वडामा ८ वटा टोल विकास संस्थाहरु गठन भई क्रियाशिल रहेका र ती टोल विकास संस्थामा आवद्ध परिवारका युवा सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । आगामी दिनमा तालिम लिने युवाहरु नै नेतृत्व तहमा आउन सकुन्, साना तिना कार्यक्रम तयार गरी नगरपालिका, सम्बन्धित निकाय र वडामा कार्यक्रम माग गर्न सकुन्, वडाका समस्याहरुलाई पहिचान गरी समाधान गर्न युवाहरुको अग्रसरता रहोस् भन्ने उदेश्यका साथ युवाहरुको क्षमता विकास गरिएको उनले बताए ।
टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र अधिकारी, मातृका हुमागाई, मणिराज राई, रामचन्द्र नेपाल, वेदमाया बजगाईले टोल विकासको भूमिका विस्तार गरी संस्थालाई भरपुर परिचालन गर्न नगरपालिकाको कार्यालय र वडा कार्यालयलाई सुझाव दिएका छन् ।
उद्घोषण तालिमको आवश्यक्ता र माग समुदाय स्तरमा धेरै भएको हुनाले आगामी वर्ष थप तालिम सञ्चालन गरिने वडा सदस्य कमला तुम्बापोले जानकारी गराइन् । वडा सदस्य मञ्जु विकले महिलाहरुलाई समाजिक गतिविधिमा सक्रिय गराउन भाषणकलाको तालिम आवश्यक भएकोले महिला लक्षित कार्यक्रममा प्राथमिक्ता दिनुपर्ने बताइन् ।
सौर्य दैनिकका पाँचथर प्रतिनिधि कृष्ण ओझाले समापन मन्तब्य राख्दै वडाले कृषि, पशुपालनको क्षेत्रलाई वडाले उच्च प्राथमिक्ता दिएको र थप योजना प्रदान गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । वडा सचिव विनय रम्तेलले वडाका यस वर्षका कार्यक्रम करिब ९५ प्रतिशत सम्पन्न गरिएको बताए ।
समापन कार्यक्रम पावर पोष्ट प्रालिका अध्यक्ष युधिष्ठिरराज आमगाईको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त तालिमको सहजिकरण पावर पोष्ट मिडिया प्रालिका अध्यक्ष युधिष्ठिरराज आमगाई र महिला शक्ति विकास केन्द्रकी कोर लिडर मुना भट्टराईले गरेका थिए ।
प्रतिक्रिया