कटहरिया नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

रौतहट । जिल्लाको कटहरिया नगरपालिकाले हिउँदे अधिवेशन आइतबार सम्पन्न गरेको छ । कटहरिया नगरपालिका–९ स्थित डुमरियामा एक कार्यक्रमकाबीच नगरसभाको नवौँ अधिवेशन–२०८० सम्पन्न गरेको हो । कटहरिया नगरपालिकाका बहुमत सदस्यहरूले अधिवेशन सम्पन्न गरेका छन् । आयोजित सभालाई सम्बोधन गर्दै नगरप्रमुख अजय प्रकाश जयसवालले नगरपालिकाको कामकाज अगाडि बढाउने उद्देश्यले आफूले हिउँदे अधिवेशन आयोजन गरेको बताए । जनताले प्रदान गरेको म्यान्डेडअनुसार नै आफू अगाडि बढिरहेको बताए ।

उनले भने, ‘कार्यपालिका बोर्डको सहमतिले नै कामहरू बढ्न सक्छ । सबै कार्यपालिका सदस्यहरूको अधिकार सामान रहेको बताए । जनताको सुख सुविधाका लागि आफू लड्न तयार रहेको प्रष्ट पारे । अहिले जुन नगरपालिकालाई बिथोल्ने काम भइरहेको छ । त्यो गलत रहेको उनको भनाइ छ । नगरपालिकालाई बन्द गर्ने काम, सेवाग्राहीलाई मर्कामा पर्नेगरी तालाबन्दी गर्नु गलत हो ।’

उनले जे पनि माग छ त्यो मागलाई कार्यपालिका बोर्डमा आएर राख्न आन्दोलनरत पक्षलाई आग्रह गरे । कार्यपालिका बोर्डको निर्णयलाई आफूू मान्न तयार रहेको प्रष्ट पारे । यदि आफ्नो दायित्व, कर्तव्य जनताप्रति इमानदारीपूर्वक गरिरहेको छ भने कसैले पनि गलत भन्न नसक्ने ठोकुवा गरे । सत्यको लडाइँ लड्न यथार्थसँग हिँडन सबैसँग आग्रह गरे । जनताको सुखसुविधा जसले रोक्न प्रयास गरिरहेको छ । त्यसको खुलेर विरोध गर्न आग्रह गरे ।

कटहरिया–३ का वडा अध्यक्ष श्यामाकान्त यादवले स्वागत मन्तव्य राख्दै बाध्यताले नगरपालिकामा गर्नुपर्ने कार्यक्रम बाहिर गर्नुपरेको बताए । हिउँदे अधिवेशन गर्नलाई अति नै जरुरी रहेकोले हामीले अधिवेशन आयोजना गरिएको उनको भनाइ रहेको थियो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यपालिका सदस्य मनोज जयसवालले जनताको सेवा सुविधा बन्द गरेर लडाइँमा नलाग्न आग्रह गरे । उनले तालबन्दी खोलेर कार्यपालिका बैठकमा कुरा राख्न अनुरोधसमेत गरे ।

त्यसैगरी वडा–६ का वडा अध्यक्ष जयराम चौधरीले आफनो व्यक्तिगत स्वार्थका लागि नगरपालिकामा तालाबन्दी गरेका कारण अन्तै हिउँदे अधिवेशन गर्नुुपरेको बताए । कार्यक्रम सञ्चालन योजना शाखाप्रमुख रामनरेश यादवले गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले पुस मसान्तभित्र हिउँदे अधिवेशन गर्नुपर्ने भएकोले कार्यक्रम गर्नुुपरेको बताए । लिजामा बढी मार्क ल्याउन हिउँदे अधिवेशन गर्नुपरेको बताए । जनप्रतिनिधिहरूले आपसी मतभेदले नगरपालिकामा हिउँदे अधिवेशन नगरी अन्तै गर्नुु परेको बताए ।

हिउँदे अधिवेशन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिंहसँगै वडा–८ का वडाअध्यक्ष समिश बिक्रम साह, वडा–९ का वडा अध्यक्ष रुपेश यादव, कार्यपालिका सदस्य दिलीप जयसवालसहित वडा सदस्यहरू, कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो । यता आफूहरूको आठ बुँदे मागलाई सम्बोधन नगरी नगरसभा गर्न एकदम गलत रहेको वडा–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले प्रतिक्रिया दिएका छन् । कटहरिया नगरपालिकाको उपप्रमुख रितादेवी यादव सहितका जनप्रतिनिधिहरू नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा बसिरहेका छन् ।

प्रतिक्रिया