उद्योगमन्त्री रिजालले आफनो आन्दोलन करोडौँमा बेचे : संयोजक यादव

जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले संघीय सरकारका उद्योग मन्त्री रमेश रिजालमाथि गम्भीर आरोप लगाएका छन् ।

सप्तरीदेखि वीरगञ्जसम्म थालेको चुरे संकल्प पद यात्राको वीरगञ्जमा समापन कार्यक्रममा सम्बोधन गर्दै संयोजक यादवले उद्योग मन्त्री रिजालले आफूले चुरे संरक्षणका लागि थालेको आन्दोलनलाई बेचेको आरोप लगाए । उनले भने, ‘चुरे संरक्षणदेखि लिएर सिर्सिया नदी संरक्षणका लागि काठमाडौंसम्म पद यात्रा गर्दा मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाए पनि उनले आफनो आन्दोलन एक करोडमा बेचेका हुन् ।’

संयोजक यादवले पटकपटक आन्दोलन गर्दा पनि मधेस प्रदेशका वन मन्त्री रमेश कुर्मीले चुरे संरक्षणका लागि चासोसमेत नलिएको र आफूहरूको आन्दोलनप्रति अलिकति पनि संवेदनशील नभएको बताउँदै उनीमाथि जनकपुरधाम प्रवेश निषेधसम्म घोषणा गरिने चेतावनी दिए । उनले भने, ‘आउने तीन–चार दिनमै आफूहरूको बैठक बसी वनमन्त्री कुर्मीलाई मधेस प्रदेशको राजधानीमा पस्न निषेध गरिने निर्णय गरी घोषणा गरिनेछ ।’
चुरे संरक्षणको माग, दलित भूमिहीनलाई लालपुर्जा दिनुपर्ने र सिर्सिया नदीको संरक्षणको माग गर्दै सप्तरीको कोसी नदीदेखि लिएर हुलाकी राजमार्ग हुँदै वीरगञ्जको घण्टाघरसम्म चुरे संरक्षण पद यात्रा गरेका छन् ।

प्रतिक्रिया