सर्लाहीको बरहथवामा गाेली चल्याे, एक आन्दोलनकारीको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीसँगको मुठभेटको क्रममा एक युवकको ज्यान गएको छ । शुक्रबार दिउँसो उत्तेजित भिडलाई नियन्त्रण गर्नका लागी प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । त्यहाँका ब्यापारी जयशंकर साहको ज्यान गएपछि प्रहरीले गोली चलाएको आशंका गरिएको छ ।

उत्तेजित भिडले नगरपालिका कार्यालय तोडफोड गरेको छ, भने मेयर कल्पना कटुवाल चढ्ने गाडी र अर्को एक सरकारी नम्बर प्लेटको मोटरसाईकल जलाएको छ । अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ ।

त्यहाँ नेपाल प्रहरी, शसस्त्र प्रहरी बाक्लो संख्यामा खटिएका छन । नगरपालिकाबाट उत्तेजित भिड मेयर कटुवालको घरमा आगो लगाउन भनेर गएको अवस्थामा एकजनाको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । केहि दिनदेखि त्यहाँ अस्पतालको बिषयलाई लिएर तनाव सिर्जना भईराखेको छ । वडा नम्बर ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडको अस्पतालमा स्तरोन्नती गर्नका लागी नगरपालिकाले गरेको निर्णय कार्यान्वय गर्न माग राखेर नेपाली कांग्रेससहितका अन्य दलले माग गर्दै आएका छन् ।

बरहथवा नगरपालिका कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणाधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर पछि मेयर सहित बहुमत सदस्य सो निर्णयबाट पछि हटेपछि अवस्था तनावग्रस्त बनेको हो ।

यहि बिषयमा छलफल गर्न शुक्रबार बिहान बैठक बोलाईएको भएपनि सुचना टाँसेर बैठक स्थगित गरिएको थियो । बरहथवा नगरपालिकाको कार्यालय अगाडी अहिले पनि नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपाल सहितको ५ दलका कार्यकर्ता ठुलो संख्यामा रहेका छन् । त्यहाँबाट प्राप्त जानकारी अनुसार २ जना नेपाल प्रहरीलाई प्रदर्शनीकारीले लखेटेका छन ।

बरहथवा बजार क्षेत्र अहिले निकै तनावग्रस्त बनेको छ । प्रहरी र प्रदर्शनकारीहरु ठाँउ ठाउँमा झड्प भईरहेको छ ।

प्रतिक्रिया