सिराहा कारागार भित्र कैदीबन्दीमाथि कुटपिट

सिराहा । सिराहा कारागारमा एक कैदीबन्दी माथि मरणासन्न हुने गरि कुटपिट भएकाे छ । जेल सजाय काटिरहेका सुनिलकुमार यादवसहित २० जनामाथि गत बुधबार कुटपिट भएको हो ।

जसमध्ये सुनिल सबैभन्दा बढी गम्भीर घाइते भएका छन् । हाल उनको बिराटनगरमा उपचार भइरहेको छ । अन्य २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई भने घटनाको ढाकछोप गर्न कारागारले भित्रै राखिएको छ ।

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ रूपैयाँ उपलब्ध गराउने गर्छ, भने हरेक महिना २४०० रूपैयाँ दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूले बताएका छन् ।

चौकिदार कैलाश ठाकुर, विजय महतोलगायतले कारागारभित्र सबै सरोकारवालासँग सेटिङ गरि राजनीति गरेको, अनियमितता मचाएको र आवाज उठाउँदा कुटपिट गरेको उनीहरूको आरोप छ । घटनाको विषयमा छानबिन र अनुसन्धान भइरहेको सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।

प्रतिक्रिया