पर्साको सखुवाप्रसौनी महुवनमा ऋण पीडीतहरूक‍ो कोणसभा

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका ५ को महुवन बजारमा लघुवित तथा वितीय संस्थाबाट ऋण पीडीतहरूक‍ो कोणसभा सम्पन्न भएको छ । लघुवित तथा वितीय संस्था विरूद्धको संघर्ष समिति जिल्ला कार्य समिति पर्साको आह्वानमा सो कोणसभा सम्पन्न भएको हो ।

पर्साका विभिन्न पालिकाबाट सयौँ संख्यामा जम्मा भएका ऋण पीडीतहरूले ब्यानर, प्लेकार्डसहित नारा जुलुस गरेका थिए । महुवन बजारको परिक्रमा गरि जुलुस महुवन बजार चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सहभागी भएका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मणिराज ज्ञावली, अतिथि केन्द्रीय सचिव रमेश तामाङ र जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिव प्रसाद तेली लगायतले मन्तव्य राखे ।

नवसामन्तीका रूपमा स्थापित लघुवित तथा वितीय संस्था खारेज, लघुवित तथा वितीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्ने, आम किसानलाई निःशुल्क ऋण प्रदान गर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था गर्ने र समाजवादी अर्थतन्त्रको व्यवस्था गर्नेजस्ता जायज माग नेपाल सरकारले पुरा गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

केन्द्रीय सचिव रमेश तामाङले लघुवित वितीय संस्था पीडीत देशैभरिका ऋणी सदस्यहरू संगठित रूपले एकजुट भइ काँधमा काँध र हातमा हात मिलाएर लघुवित र वितीय संस्था विरूद्धको संघर्षमा होमिन र नेपाल सरकारसँग माग पूरा गर्न गराउन संघर्ष समिति लागि परेको केन्द्रीय अध्यक्ष मणिराज ज्ञावलीले बताए ।

कोणसभाको अध्यक्षता गरेका जिल्ला कार्य समिति पर्साका अध्यक्ष शिवप्रसाद तेलीले नेपाल सरकार र लघुवित तथा वितीय संस्था विरूद्धको ऋण मिनाहा गराउने संघर्ष जारी रहेसम्म ऋणको किस्ता नबुझाउन आग्रह गरे । लघुवित तथा वितीय संस्थाका कर्मचारीसँग नडराउन, घरमा तालाबन्दी गर्न आएका कर्मचारी विरूद्ध प्रहरी प्रशासनमा उजुरी गर्न र सबै ऋण पीडीत सदस्यहरू एकजुट भएर रहन अनुरोध गरे ।

प्रतिक्रिया