लालबन्दी । सर्लाहीको हरिवन बजार क्षेत्रमा चन्दा असुल्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढि गाउँपालिका–७ बस्ने ४५ वर्षका चेतनाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका–१ बस्ने ५० वर्षका राजु हाडा रहेको ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्रहरी निरिक्षक अनिल गिरीले जानकारी दिए ।
उनीहरुले हरिवन नगरपालिका–११ स्थित बजार क्षेत्रमा व्यापारीहरुसँग नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा चन्दा आतंक फैलाएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको हो ।
भनेजति चन्दा नदिए जे पनि गर्न सक्ने धम्की दिँदै उनीहरुले व्यापारीहरुलाई डरत्रास देखाएर चन्दा असुल्दै आएको दाबी प्रहरीले गरेको छ । त्यस्तै हरिपुर्वा नगरपालिका–३ धनकौलका ७५ वर्षीय राजनारायण रायको हत्या भएको छ । टाउकोको पछिल्लो भागमा चोटपटक लागेको अवस्थामा राय आफ्नै गोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बुधबार दिउँसो करिब ३ बजे नै राय मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई गरिएको थियो । प्रहरीले घटनास्थल प्रकृति मुचुल्का र प्रारम्भिक अनुसन्धानमा समय लागेकाले शव बिहीबार मात्र पोष्टमार्टमका लागि पठाएको छ । प्रहरीले तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान गर्ने जनाएको छ । राय मृत भेटिएको गोठ एकान्त स्थानमा रहेको छ ।
सर्लाही
प्रतिक्रिया