सिराहा प्रहरीद्वारा चार हजार गाँजाको बोट नष्ट

सिराहा । सिरहाबाट गाँजा ओसारपोसार र खेती गरिने कार्यलाई पूर्णरुपले निस्तेज बनाउन सिराहा प्रहरी चुरे क्षेत्रलगायत विभिन्न ठाउँहरुमा पुग्ने गरेको छ । यही क्रममा प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका– ८ चियाबारी टोलमा करेसाबारी तथा घर–आँगनमा अवैधरुपमा चार–पाँच कठ्ठामा लगाइएको करीब चार हजार गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको छ ।

गोप्य सूचनाको आधारमा पोष्ट कसहाका प्रहरी सायक निरीक्षक यज्ञबहादुर भट्टाराई र ईलाका प्रहरी कार्यालय सिराहाबाट प्रहरी नायब निरीक्षक शारदा शंकर साहको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढीमाई नगरपालिका– ८चियाबारी टोलस्थित विभिन्न व्यक्तिहरूको खेतबारी तथा करेसाबारी र आँगनहरुमा लगाइराखेको करिब ४–५ कठ्ठामा लगाएको ३५०० देखि ४००० गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

गाँजाको कारोबार गर्न पल्किएका कारोबारीहरुले सर्वसाधारण किसानलाई बहकाई हत्तपत्त नदेखिने स्थानहरुमा गाँजाको खेती गर्न उक्साउने गरेका छन् । सिराहामा खास गरी खोलानदी किनार, चारैतिर रुखहरुले घेरिएको खेत तथा चुरेको फेदीतिर ठूलो संख्यामा गाँजाको खेती गर्ने गरिन्छ ।

असार–साउनमा लगाइएको गाँजा मंसिर–पुसमा परिपक्व भएपछि कारोबारीहरुले गाँजाको बोटबाट गाँजा उत्पादन गर्ने गर्दछन् । राम्रोसँग फस्टाएको एउटा बोटबाट मात्रै आधा केजीदेखि एक केजीसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुन सक्ने बताइन्छ ।

यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पुर्याउन सकेको अवस्थामा कारोबारीहरुले प्रति केजी १० हजारभन्दा बढी भारतीय रुपैयाँसम्ममा विक्री गर्ने गर्दछन् ।

प्रतिक्रिया